डडेल्धुराको विकासका लागि १६ बुँदे मागगर्दै मन्त्री रावललाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र

डडेल्धुरा- डडेल्धुराको समग्र विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद तथा उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि डडेल्धुरा उद्योग वाणिज्य संघले संघीय सरकारसँग १६ बुँदे माग अघि सारेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेकी माननीय मन्त्री प्रतिभा रावललाई संघले ज्ञापनपत्र बुझाउँदै डडेल्धुराका नागरिकले वर्षौंदेखि भोग्दै आएका समस्याको तत्काल समाधानका लागि पहल गर्न आग्रह गरेको हो।

संघका अध्यक्ष दीपक बहादुर महताको नेतृत्वमा गएको टोलीले मन्त्री रावलसँग डडेल्धुरा जिल्लाको समग्र विकास तथा स्थानीय समस्या समाधानका विषयमा छलफलसमेत गरेको जनाएको छ।

ज्ञापनपत्रमा डडेल्धुरास्थित शिव सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन विशेष पहल गर्न माग गरिएको छ। संघका अनुसार सहकारीमा करिब ४२ करोड रुपैयाँ बराबरको रकम हिनामिना भएको गुनासो रहेकाले निष्पक्ष छानबिन, वास्तविक बचतकर्ताको पहिचान, सम्पत्ति खोजी तथा संरक्षण र दोषीमाथि कानुनी कारबाही गरी बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउनुपर्ने माग गरिएको छ।

त्यस्तै, डडेल्धुरा सदरमुकामको मुख्य बजार क्षेत्रलाई धुलो र हिलोमुक्त बनाउँदै पक्की सडक, नाली, ढल निकास तथा व्यवस्थित बजार पूर्वाधार निर्माण गर्न आवश्यक बजेट व्यवस्था गर्न आग्रह गरिएको छ।

डडेल्धुरा अस्पताललाई सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकका लागि भरपर्दो विशेषज्ञ अस्पतालका रूपमा विकास गर्नुपर्ने पनि संघको माग छ। अस्पतालमा विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्य जनशक्ति, आधुनिक उपकरण, प्रयोगशाला, शल्यक्रिया तथा आकस्मिक सेवाको क्षमता विस्तार गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

कृषि क्षेत्रमा डडेल्धुराको उत्पादनलाई व्यावसायीकरण गर्न ठूलो क्षमताको आधुनिक शीत भण्डार, कृषि उपज संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्न माग गरिएको छ। साथै, कृषकले बाँदर, बँदेललगायत जङ्गली जनावरबाट भोग्दै आएको बाली क्षतिको स्थायी समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

संघले डडेल्धुरालाई खेलकुद केन्द्रका रूपमा विकास गर्न स्तरीय क्रिकेट मैदान, फुटबल मैदान, भलिबल कोर्ट तथा अन्य आवश्यक खेल पूर्वाधार निर्माणका लागि राष्ट्रियस्तरको योजना ल्याउन माग गरेको छ।

वर्षौंदेखि चलनभोगमा रहेका विभिन्न संघ–संस्थाका जग्गाको स्वामित्व समस्या समाधान गरी कानुनी प्रक्रिया पूरा गरेर लालपुर्जा उपलब्ध गराउनुपर्ने, नापी नक्सा भएका तर लालपुर्जा नपाएका वास्तविक जग्गाधनीको समस्या समाधान गर्न विशेष पहल गर्नुपर्ने माग पनि अघि सारिएको छ।

यस्तै, डडेल्धुरामा राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन, उपयुक्त स्थानको पहिचान तथा विस्तृत आयोजना प्रतिवेदन तयार गरी संघीय बजेटमा समावेश गर्न प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

ज्ञापनपत्रमा डडेल्धुरामा प्राविधिक शिक्षालय तथा प्राविधिक कलेज स्थापना, गुणस्तरीय विद्यालय तथा उच्च शिक्षाको पहुँच विस्तार, युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय पनि समेटिएको छ।

कृषि, पशुपालन, पर्यटन र स्थानीय उत्पादनको विकाससँगै उद्योगी तथा व्यवसायीका लागि सहुलियतपूर्ण कर्जा, सीप तथा प्रविधि हस्तान्तरण, बजारीकरण र उद्योग स्थापना गर्न आवश्यक पूर्वाधारको व्यवस्था गर्न संघले माग गरेको छ।

त्यसैगरी डडेल्धुरा बजार क्षेत्रमा हुने दैनिकजसोको सडक जाम व्यवस्थापनका लागि बजार नजिकै मिनी बसपार्क निर्माणको सम्भाव्यता अध्ययन गरी बजेट विनियोजन गर्न आग्रह गरिएको छ। खानेपानी, फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालय, सडक बत्ती, यातायात व्यवस्थापन तथा बजार क्षेत्रको सौन्दर्यीकरणसहित डडेल्धुरालाई आधुनिक र व्यवस्थित जिल्ला सदरमुकामका रूपमा विकास गर्न एकीकृत योजना आवश्यक रहेको संघको भनाइ छ।

संघले आफूहरूले उठाएका विषय कुनै राजनीतिक दल वा व्यक्तिविशेषका माग नभई डडेल्धुराका उद्योगी, व्यवसायी, कृषक, युवा, विद्यार्थी र आम नागरिकका साझा सरोकारका विषय भएको जनाएको छ।

अध्यक्ष महताले वर्षौंदेखि दोहोरिँदै आएका समस्या समाधानका लागि अब आश्वासनभन्दा परिणाम आवश्यक रहेको उल्लेख गर्दै सम्बन्धित संघीय मन्त्रालय तथा निकायसँग समन्वय गरी स्पष्ट कार्ययोजना, आवश्यक बजेट, समयसीमा र जिम्मेवार निकाय तोकेर मागहरू कार्यान्वयन गर्न मन्त्री रावलको ध्यानाकर्षण गराएका छन्।

प्रतिकृया दिनुहोस

प्रसारणलाई प्रविधिमैत्री र नागरिकमुखी बनाउन मन्त्री तिमल्सीनाको जोड

काठमाडौँ, भाद्र ९। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सीनाले प्रसारण क्षेत्रले बदलिँदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता,

जहाँ पानी पर्नासाथ घर छाड्नु पर्छ

बैतडी, भाद्र ९ । बैतडीको सुर्नया गाउँपालिका–८, रातापानीका बासिन्दालाई पानी पर्न थालेपछि ठुलो डर घरभित्र पस्ने पानीको हैन, घरमाथिबाट खस्ने पहिरोको

पर्यटकको रोजाइमा पर्दै अपिहिमाल गाउँपालिकामा

दार्चुला, भाद्र ९ । हिमाली जिल्ला दार्चुलाका नौ वटा स्थानीय तहमध्ये अपिहिमाल गाउँपालिकामा अझै पनि सडक पुगेको छैन। भौगोलिक दृष्टिले निकै कठिन र दुर्गम