महाकालीमा हाम फालेका खत्रीको अवस्था अझै अज्ञात
कञ्चनपुर, भाद्र ५ । गत शुक्रबार दिउँसो महाकाली नदीमा हाम फालेका युवकको अवस्था अझै अज्ञात रहेको छ। दार्चुलाको लेकम गाउँपालिका–६, सिरोडाका २७ वर्षीय सुनील खत्री महाकाली नदीमा हाम फालेर बेपत्ता हुनुभएको हो।
रोजगारीका सिलसिलामा भारतको दिल्लीमा रहेका खत्रीले गत शुक्रबार दिउँसो भारततर्फ रहेको पुलको डिलबाट महाकाली नदीमा हाम फाल्नुभएको थियो। नदीमा हाम फाल्नुअघि भारतीय स्थानीयवासीले उहाँलाई पटक–पटक पुलको डिलबाट फर्किन आग्रह गरे पनि केही समयपछि नदीमा हाम फालेर बेपत्ता हुनुभएको थियो।
गत मङ्सिरमा विवाह गरेका खत्री विवाहको एक महिनापछि रोजगारीका लागि भारत गएको परिवारका सदस्यले बताएका छन्। बेपत्ता खत्रीकी दिदी दीपा धामीले वैवाहिक सम्बन्धमा आएको तनाव र श्रीमतीसँगको मनमुटावका कारण भाइले पीडा सहन नसकेर यस्तो अवस्था आएको हुन सक्ने बताउनुभयो।
बेपत्ता खत्रीका परिवारका सदस्यले उहाँकी श्रीमती विमला भाट खत्रीमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्। बेपत्ता खत्री र उहाँकी श्रीमती विमलाबिचको टेलिफोन संवाद तथा सम्बन्धमा आएको खटपटसम्बन्धी विषय सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको भन्दै परिवारले विमलामाथि कानुनी कारबाहीको माग गरेको हो।
प्रहरी कार्यालयमा विमलाविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दर्ता गर्न खोजे पनि प्रहरीले दर्ता गर्न नमानेको बेपत्ता खत्रीकी बुहारी सपना शाह खत्रीले गुनासो गर्नुभयो। लगातार तीन दिनदेखि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन गए पनि प्रहरीले दर्ता गर्न नमानेको उहाँको भनाइ छ।
एकातिर जिल्ला प्रहरी कार्यालयले बेपत्ता खत्रीको खोजी कार्यसमेत स्थगित गरेको र अर्कोतिर जाहेरीसमेत दर्ता गर्न नमानेपछि आफूहरूलाई झनै पीडा थपिएको सपना शाहले बताउनुभयो।
बेपत्ता खत्रीकी श्रीमती विमला जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी जवान पदमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरेश सिंहले बताउनुभयो। उहाँका अनुसार विमला हाल बिदामा हुनुहुन्छ। कञ्चनपुर प्रहरी कार्यालयको पत्रको प्रतीक्षामा रहेको उहाँले बताउनुभयो। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने बेपत्ता खत्रीको अवस्था अझै अज्ञात रहेकाले तत्काल जाहेरी दर्ता गर्न नमिल्ने जनाएको छ।
बेपत्ता युवकको खोजी गरिए पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो। अवस्था अज्ञात रहेपछि हाल खोजी कार्यसमेत स्थगित गरिएको उहाँको भनाइ छ।
प्रहरीसँग आवश्यक खोजी सामग्रीको अभाव भएकाले नदी किनारका क्षेत्रमा खोजी गरिए पनि खत्रीलाई फेला पार्न नसकिएको गिरीले बताउनुभयो। अर्कोतर्फ, खत्री भारततर्फको भूभागमा बेपत्ता भएकाले कानुनी प्रक्रिया अघि बढाउन कठिनाइ भएको उहाँको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सशस्त्र प्रहरी तथा विपद् उद्धार टोलीले लगातार चार दिनसम्म युवकको खोजी गरे पनि फेला पार्न नसकेको जनाइएको छ। स्थानीयवासीले भने खत्रीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाउँदै उहाँकी श्रीमती विमलामाथि कानुनी कारबाही प्रक्रिया अघि नबढाइए न्यायका लागि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ
काठमाडौं, भाद्र ५ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले सरकारको जवाफ खोजेका छन्। राष्ट्रिय सभामा शून्य
प्रशासनिक सेवाका लागि धाउनु पर्दैन सदरमुकाम
बैतडी, भाद्र ५ । नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने दुर्गम क्षेत्रका नागरिकको बाध्यता घट्दै गएको
सुदूरपश्चिम भ्रमणमा आउँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावल
कञ्चनपुर, भाद्र ५ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि भदौ ६ देखि ९ गतेसम्म सुदूरपश्चिम प्रदेशको








.jpeg)


प्रतिकृया दिनुहोस