जहाँ पानी पर्नासाथ घर छाड्नु पर्छ

बैतडी, भाद्र ९ । बैतडीको सुर्नया गाउँपालिका–८, रातापानीका बासिन्दालाई पानी पर्न थालेपछि ठुलो डर घरभित्र पस्ने पानीको हैन, घरमाथिबाट खस्ने पहिरोको हुन्छ । आकाशमा बादल मडारिन थालेसँगै उनीहरू सुरक्षित बास खोज्न छिमेकीको घरतिर लाग्नुपर्ने अवस्था छ ।

लगातारको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखिममा छन् । घरमाथिको जमिन चर्किएको छ । खेतीयोग्य जमिन पहिरोले बगाउँदै लगेको छ । भान्सा र शौचालयमा समेत क्षति पुगेको छ । पहिरो कहिले कहाँबाट आउँछ भन्ने थाहा हुँदैन । वर्षा हुनासाथ घरभित्रै बस्ने कि छाडेर सुरक्षित स्थानमा जाने भन्ने चिन्ताले स्थानीय बासिन्दालाई सताउने गरेको स्थानीय भानबहादुर बोहोराले बताउनुभयो । 

पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायको टोली रातापानी पुगेको थियो । 

रातापानीका रामसिंह बोहोरा, धनुवा बोहोरा, मीना बोहोरा, गम्भीरसिंह बोहोरा, उदयसिंह बोहोरा, चक्र बोहोरा र कृष्ण बोहोराको घर उच्च जोखिममा छन् । जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित राख्न टेन्ट, त्रिपाललगायत आवश्यक सामग्रीको व्यवस्थापन तथा बस्ती स्थानान्तरण गर्ने÷नगर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

स्थानीयवासीका अनुसार रातापानीमा पछिल्लो पाँच वर्षदेखि निरन्तर पहिरो जाने गरेको छ । पटक पटक पहिरोको दीर्घकालीन रोकथामका लागि सम्बन्धित निकायसँग माग गरे पनि समस्या समाधान हुन नसकेको उनीहरूको गुनासो छ । “घरमाथिको सबै जमिन चर्किएको छ, खानेपानीको पनि समस्या छ, बालबालिकालाई विद्यालय जानसमेत बाटो छैन,” पहिरोको जोखिममा रहेका स्थानीय हर्क बोहोराले भन्नुभयो । पहिरोले घर मात्रै जोखिममा पारेको छैन, स्थानीयवासीको मुख्य जीविकाको आधार खेतीयोग्य जमिनसमेत बगाउँदै लगेको छ । स्थानीय बासिन्दाका अनुसार रातापानीमा पहिरोका कारण करिब ३५ देखि ४० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ ।

स्थानीय गम्भीर बोहोराका अनुसार पहिरोले उहाँको मात्रै करिब १५ रोपनीभन्दा बढी खेतीयोग्य जमिनमा क्षति पु¥याएको छ । मकै लगाइएको जमिन पहिरोले बगाएपछि यस वर्षको उत्पादनसमेत गुमेको स्थानीयवासीको भनाइ छ । उनीहरूले तत्काल राहतसँगै दीर्घकालीन समाधानका रूपमा बस्ती नै सुरक्षित स्थानमा सार्नुपर्ने माग गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

प्रसारणलाई प्रविधिमैत्री र नागरिकमुखी बनाउन मन्त्री तिमल्सीनाको जोड

काठमाडौँ, भाद्र ९। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमल्सीनाले प्रसारण क्षेत्रले बदलिँदो प्रविधिसँगै आफूलाई रूपान्तरण गर्दै विश्वसनीयता,

डडेल्धुराको विकासका लागि १६ बुँदे मागगर्दै मन्त्री रावललाई उद्योग वाणिज्य संघको ज्ञापनपत्र

डडेल्धुरा- डडेल्धुराको समग्र विकास, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खेलकुद तथा उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधानका लागि

पर्यटकको रोजाइमा पर्दै अपिहिमाल गाउँपालिकामा

दार्चुला, भाद्र ९ । हिमाली जिल्ला दार्चुलाका नौ वटा स्थानीय तहमध्ये अपिहिमाल गाउँपालिकामा अझै पनि सडक पुगेको छैन। भौगोलिक दृष्टिले निकै कठिन र दुर्गम