बझाङको थलारामा बहुप्रकोप पूर्वसूचना प्रणाली जडान
बझाङ, साउन २३। बाढी, पहिरो, डुबानलगायतका विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न बझाङको थलारा गाउँपालिकाले सेती नदीमा बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’ जडान गरेको छ । विपद्को उच्च जोखिममा रहेको थलाराले जडान गरेको यो प्रणालीले कुनै पनि दुर्घटना हुनु पूर्व सम्भावित जोखिमबारे स्थानीयलाई सूचित गर्ने र विपद्को जोखिमबाट बचाउने अपेक्षा गरिएको छ ।
थलारा गाउँपालिकाले पिपुल इन निड संस्थाको आर्थिक सहयोग लिएर यो विपद् पूर्वसूचना प्रणाली वडा–९ झ्यााबगरस्थित सेती नदी किनारमा जडान गरेको हो । यो गाउँ बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिले नेपालमै विकसित गरेको यो बहुप्रकोप पूर्वसूचना प्रणालीले बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, औद्योगिक दुर्घटनालगायतका विपद्को जोखिमबारे समुदायलाई समयमै चेतावनी दिन सक्ने जनाइएको छ ।
प्राविधिक अनुज खनालका अनुसार प्रणालीमा बाढी तथा अन्य जोखिमको अवस्था मापन गर्ने सेन्सर जडान गरिएको छ । सेन्सरबाट प्राप्त वास्तविक समय (रियल टाइम) सूचनाका आधारमा जोखिमको अवस्था पहिचान गरी आवश्यक परे साइरन आफैं बज्ने व्यवस्था छ । उनका अनुसार यस प्रणालीबाट एसएमएस, इन्टरनेट, स्याटेलाइट नेटवर्क तथा वायरलेस रिमोट कन्ट्रोल मार्फत तत्काल चेतावनी सन्देश पठाउन सकिन्छ । स्थानीयलाई सहज रूपमा बुझाउन विभिन्न स्थानीय भाषामा पूर्वरेकर्ड गरिएका तथा प्रत्यक्ष आवाज सन्देश (भ्वाइस मेसेज) समेत प्रसारण गर्न सकिने व्यवस्था छ ।
ठूलो बाढी वा अत्यधिक वर्षा हुँदा सेन्सरले जोखिमको अवस्था पहिचान गरेपछि प्रणालीले स्वचालित रूपमा साइरन बजाएर आसपासका बस्तीलाई सतर्क गराउन सक्छ । यसले विशेषगरी रातको समयमा वा मानिसलाई विपद्को संकेत तत्काल थाहा नहुने अवस्थामा उपयोगी हुने अपेक्षा गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययन अनुसार थलारा गाउँपालिका विपद्को उच्च जोखिममा छ । गत वर्ष प्राधिकरणले गरेको अध्ययनले बझाङको थलारा र केदारस्यूँ गाउँपालिकाका ६० वटा गाउँ पहिरो रहेको र पहिरोका कारण यहाँका १९०० परिवार उच्च जोखिममा रहेको पाएको थियो । पहिरोबाहेक यी दुई गाउँपालिकाका नदी तटमा रहेका थुप्रै गाउँ बाढीको पनि उच्च जोखिममा छन् । २०५८ सालयता आएका बाढीले निरन्तर कटान गर्दा यी दुई पालिकाका १६ वटा भन्दा बढी बस्ती जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक छ ।
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार
बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता











प्रतिकृया दिनुहोस