डडेल्धुरामा तीन उत्कृष्ट करदाता पुरस्कृत

डडेल्धुरा, मंसिर ७ । आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर सप्ताहको समापनका अवसरमा विभिन्न क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने तीन फर्मलाई पुरस्कृत गरेको छ। सोमबार आयोजित कार्यक्रममा कृषितर्फ केदारनाथ कृषि सेवा केन्द्र, व्यापारिक फर्मतर्फ ठगुन्ना जनरल स्टोर र प्रालितर्फ जीबीएल हार्डवेयर प्रालिलाई प्रशंसापत्र प्रदान गरिएको हो।

अमरगढी नगरपालिका–५ मा रहेको केदारनाथ कृषि सेवा केन्द्र कृषितर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने फर्म बनेको छ। यस्तै, दार्चुलाको महाकाली नगरपालिका–४ स्थित ठगुन्ना जनरल स्टोर व्यापारिक फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा परेको छ। अमरगढी नगरपालिका–५ मा सञ्चालित जीबीएल हार्डवेयर प्रालि प्रालितर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

पुरस्कृत जीबीएल हार्डवेयर प्रालिका सञ्चालक लालमणि पन्तले आफूले तिरेको करबाटै राष्ट्र निर्माणमा योगदान पुग्ने बताए। व्यवसायीले इमानदारीपूर्वक कर तिरे मात्रै राज्य सञ्चालन र विकास निर्माणका काम प्रभावकारी हुने उनको भनाइ थियो।

कर सप्ताह समापन कार्यक्रममा सहभागी सरोकारवालाले करदातालाई प्रोत्साहनसँगै व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक महताले जिल्लाका प्रमुख बजार क्षेत्रमा व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण नरहेको बताए। व्यापारिक प्रयोजनका लागि खोलिएका पसल अगाडि नै सवारीसाधन पार्किङ गरिँदा व्यवसायी प्रभावित भइरहेको उनले बताए। कर तिरेर राज्यलाई योगदान गरिरहेका व्यवसायीको सहजताका लागि स्थानीय सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले नागरिकमा कर तिर्ने बानीको विकास हुन नसकेको बताए। राज्य सञ्चालनका लागि वैदेशिक अनुदानमा निर्भर रहने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले स्थानीय तहमा समेत अपेक्षित राजस्व संकलन हुन नसकेको बताए। अमरगढी नगरपालिकामा वार्षिक दुई करोड रुपैयाँसमेत राजस्व संकलन हुन नसकेको उनको भनाइ थियो। कर प्रणाली प्रभावकारी बनाउन नागरिकले आफ्नो सम्पत्तिको विवरण पारदर्शी राख्नुपर्नेमा उनले जोड दिए।

प्रतिनिधिसभा सदस्य डा. ताराप्रसाद जोशीले करसम्बन्धी नयाँ नियम, कानुन र ऐनबारे सबैले जानकारी राख्नुपर्ने बताए। कर तिर्नु राज्य निर्माणमा योगदान गर्नुका साथै रोजगारी सिर्जनासँग पनि जोडिएको उनको भनाइ थियो। रोजगारदाता र उद्यमीलाई सम्मान तथा प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारले नयाँ व्यवसाय र उद्यम सिर्जना हुने वातावरण बनाउनुपर्ने बताए।

आन्तरिक राजस्व कार्यालय डडेल्धुराका प्रमुख कर अधिकृत गगनबहादुर शाहीले मंसिर १ गतेदेखि सुरु भएको कर सप्ताह सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। सप्ताहका क्रममा विभिन्न अन्तरक्रिया, क्षेत्रगत कार्यक्रम तथा कर ऐनसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गरिएको उनले जानकारी दिए। अन्य समयमा पनि कार्यालयले करदाता शिक्षा प्रदान गर्दै आएको उनको भनाइ थियो। डडेल्धुरास्थित आन्तरिक राजस्व कार्यालयले सुदूरपश्चिमका सात जिल्ला हेर्दै आएको छ।
 

प्रतिकृया दिनुहोस

आलितालमा निःशुल्क स्त्रीरोग तथा स्वास्थ्य परीक्षण शिविर हुने

डडेल्धुरा,मंसिर ७। डडेल्धुराको आलिताल गाउँपालिकामा एकदिने निःशुल्क स्त्रीरोग तथा सामान्य स्वास्थ्य परीक्षण एवं परामर्श शिविर आयोजना हुने भएको छ।

देहीजाँतका अवसरमा मंगलबार अमरगढीमा सार्वजनिक बिदा

डडेल्धुरा, मंसिर ७ । उग्रतारा भगवती मन्दिरमा लाग्ने प्रसिद्ध देहीजाँतका अवसरमा डडेल्धुराको अमरगढी नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिने भएको छ।

अछामको तुर्माखाँद उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मानित

अछाम, मंसिर ७। शिक्षा क्षेत्रमा  उल्लेखनीय योगदानको कदर गर्दै अछामको तुर्माखाँद गाउँपालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा

↑