भारतीय सुरक्षाकर्मीको अवरोधले कञ्चनपुरमा हुलाकी सडक अलपत्र

कञ्चनपुर, भाद्र २। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइमा भारतीय सुरक्षाकर्मीको अवरोधका कारण हुलाकी सडकको करिब १ हजार ४ सय मिटर खण्ड निर्माण हुन सकेको छैन। भारतीय पक्षले उक्त क्षेत्र नेपाल–भारत सीमाको दशगजामा पर्ने दाबी गर्दै सडक निर्माणमा अवरोध गर्दै आएको स्थानीयवासीले बताएका छन्।

पचुँइका स्थानीय बुद्धिराज चौधरीका अनुसार आफूहरू दशकौँदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका छन्। स्थानीयवासीले सुतिया खोलालाई लामो समयदेखि सीमा क्षेत्रका रूपमा मान्दै आएको र खोलाभन्दा नेपालतर्फ आफ्नो जग्गामा उखु खेतीसमेत गर्दै आएको उनले बताए।

डोकेबजारदेखि बेदकोट नगरपालिका–दैजीसम्मको ६४ किलोमिटर हुलाकी सडक कालोपत्रका लागि २०७३ फागुनमा तीन प्याकेजमा ठेक्का लगाइएको थियो। बेलौरी–बेल्डाँडी खण्डअन्तर्गत पचुँइमा पर्ने सडक भने भारतीय पक्षले सीमा क्षेत्रको विषय उठाउँदै निर्माणमा अवरोध गरेपछि अघि बढ्न सकेको छैन।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेका अनुसार सडक निर्माण सुरु भएपछि मात्रै भारतीय पक्षले उक्त क्षेत्र दशगजामा पर्ने दाबी गर्दै अवरोध गर्न थालेको हो। विवादका कारण पचुँइको करिब १ हजार ४ सय मिटर सडकमा कालोपत्र गर्न नसकिएको उनले बताए।

निर्माण व्यवसायीको लापरबाहीका कारण दोस्रो प्याकेज पुनः टेन्डर गर्ने तयारी भइरहेको लामिछानेले बताए। सीमा विवादका कारण विवादित खण्डमा तत्काल काम अघि बढाउन नसकिने भएपछि उक्त भाग छाडेर अन्य क्षेत्रमा निर्माण अघि बढाउने योजना रहेको उनको भनाइ छ।

पचुँइका स्थानीय मानबहादुर चौधरीले नेपाली भूमिमा लामो समयदेखि सडक निर्माणको माग हुँदै आए पनि सडक कालोपत्र गर्न थालेपछि भारतीय पक्षले थप कडाइ गरेको बताए। सडकमा ग्राइभेल हालेर खाल्डाखुल्डी पुर्नसमेत भारतीय सुरक्षाकर्मीले अवरोध गर्ने गरेको उनको भनाइ छ।

सीमा विवाद समाधान गरी सडक निर्माण अघि बढाउन स्थानीयवासीले कूटनीतिक पहल आवश्यक रहेको बताएका छन्। विवाद समाधानका लागि स्थानीय तहदेखि प्रशासनिक तहसम्म प्रयास भए पनि अहिलेसम्म ठोस निष्कर्ष ननिस्किएको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ।

हुलाकी सडकका पहिलो र तेस्रो प्याकेजको निर्माण सम्पन्न भइसके पनि दोस्रो प्याकेज भने नौ वर्ष बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। निर्माण व्यवसायीको ढिलासुस्ती र पचुँइ क्षेत्रमा देखिएको सीमा विवादका कारण उक्त खण्ड लामो समयदेखि अलपत्र परेको हो।
 

प्रतिकृया दिनुहोस

धौलीगङ्गाको बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

डडेल्धुरा, असोज १७ । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड,

सुदूरपश्चिम र कर्णालीसहित पश्चिमी भूभागबाट मनसुन बाहिरियो

काठमाण्डौ, असोज १७ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन शुरू भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै

बाजुरामा यात्रु सहायता कक्ष सञ्चालन

बाजुरा, असोज १७ । विजयादशमी, शुभ दीपावली तथा छठपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ

↑