डडेल्धुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ्दै 

डडेल्धुरा, साउन २३। विश्व स्तनपान सप्ताह मनाइरहँदा डडेल्धुरामा पूर्ण स्तनपान गराउने आमाहरूको संख्या बढ्दै गएको देखिएको छ। यद्यपि कामकाजी आमालाई चुनौती उस्तै छ। स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाका करिब ८५ प्रतिशत आमाले शिशुलाई पूर्ण स्तनपान गराएको तथ्याङ्क छ। 

संस्थागत सुत्केरीको दर बढ्दै जाँदा बच्चा जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने अभ्यासमा समेत सुधार आएको स्वास्थ्यकर्मीहरू बताउँछन्। तर सहरी क्षेत्रमा बसोबास गर्ने तथा जागिरे आमाहरूमा भने पूर्ण स्तनपान गराउने दर अपेक्षाकृत कम देखिएको छ।

स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साउँदका अनुसार जन्मेको एक घण्टाभित्र शिशुलाई आमाको दूध खुवाउन सुरु गर्नुपर्छ भने छ महिनासम्म आमाको दूधबाहेक अन्य कुनै खानेकुरा दिनु हुँदैन। शिशुलाई २४ घण्टाभित्र १० देखि १२ पटकसम्म स्तनपान गराउनुपर्ने उनी बताउँछन्। छ महिनापछि थप पोषिलो खाना सुरु गरे पनि दुई वर्ष वा सोभन्दा बढी समयसम्म आमाको दूधलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ।

साउँदका अनुसार गाउँघरका स्वास्थ्य संस्था तथा गाउँघर क्लिनिकमा हुने वृद्धि अनुगमनका क्रममा पछिल्ला वर्षहरूमा पूर्ण स्तनपान गराउने आमाको संख्या बढेको पाइएको छ। 

यद्यपि सहरी क्षेत्रमा पूर्ण स्तनपान गराउने अभ्यास भने घट्दो क्रममा रहेको स्वास्थ्य कार्यालयको निष्कर्ष छ। ग्रामीण भेगका आमाहरूले तुलनात्मक रूपमा पूर्ण स्तनपान बढी गराउने गरेको तथ्याङ्कले देखाएको छ। साउँदका अनुसार शिक्षित तथा सहरी क्षेत्रमा बसोबास गर्ने केही आमामा स्तनपानसम्बन्धी भ्रम, अपूर्ण जानकारी तथा नकारात्मक बुझाइका कारण पूर्ण स्तनपानको अभ्यास कमजोर देखिएको छ। स्तनपान गराउँदा शरीरको बनावट बिग्रिन्छ वा स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने गलत धारणा अझै केहीमा रहेको उनले बताए। यस्ता भ्रमले शिशुको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने भएकाले सचेतना आवश्यक रहेको उनको भनाइ छ।

पूर्ण स्तनपान नगराउँदा शिशुमा कुपोषणको जोखिम बढ्ने, अन्य दूध वा खानेकुरा सजिलै पच्न नसक्ने, शारीरिक तथा मानसिक वृद्धि–विकासमा असर पर्ने स्वास्थ्य कार्यालयका प्रमुख साउँदको भनाइ छ। विशेषगरी बच्चाको दुई वर्षभित्र मस्तिष्कको करिब ८० प्रतिशत विकास हुने भएकाले यो अवधिमा पर्याप्त स्तनपान अत्यन्त महत्वपूर्ण मानिएको छ।

डडेल्धुरा अस्पतालकी नर्सिङ निरीक्षक गंगा देउबाका अनुसार आमाको दूधमै शिशुलाई छ महिनासम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व पाइन्छ। पूर्ण स्तनपानले शिशुलाई विभिन्न संक्रमण तथा रोगबाट जोगाउनुका साथै जीवन रक्षा गर्ने सम्भावना पनि बढाउँछ। बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउन सके शिशुले पहिलो दूधबाट आवश्यक रोगप्रतिरोधात्मक शक्ति प्राप्त गर्ने उनी बताउँछिन्।

देउबाका अनुसार पूर्ण स्तनपान शिशुका लागि मात्र नभई आमाको स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी छ। यसले सुत्केरीपछि पाठेघर छिट्टै संकुचन हुन मद्दत गर्ने, अत्यधिक रक्तश्राव कम गर्ने, स्तन तथा अण्डाशयको क्यान्सरको जोखिम घटाउने र गर्भावस्थामा बढेको तौललाई सन्तुलनमा ल्याउन सहयोग गर्ने उनले बताइन्।

तर कामकाजी महिलाका लागि पूर्ण स्तनपान गराउनु चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ। सरकारले तीन महिनाको सुत्केरी बिदा उपलब्ध गराए पनि पूर्ण स्तनपानका लागि यो अवधि पर्याप्त नभएको उनको धारणा छ। काममा फर्किएपछि धेरै आमाले नियमित रूपमा शिशुलाई दूध खुवाउन नपाउने अवस्था रहेको भन्दै उनले कार्यस्थलमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। परिवारका सदस्यले पनि सुत्केरी आमालाई घरायसी काममा सहयोग गरेर शिशुलाई पर्याप्त समय दिन सक्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ।

स्वास्थ्यकर्मीहरूका अनुसार पूर्ण स्तनपान शिशुको स्वस्थ जीवनको आधार हो। जन्मेदेखि छ महिनासम्म आमाको दूध मात्र खुवाउने र त्यसपछि थप पोषिलो आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सके बालबालिकाको पोषण, रोग प्रतिरोधात्मक क्षमता तथा शारीरिक–मानसिक विकासमा सकारात्मक प्रभाव पर्छ। 

स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी पूर्ण स्तनपानसम्बन्धी सचेतनामूलक सामग्री वितरण गर्ने, लक्षित समूहका आमासँग अन्तरक्रिया तथा छलफल सञ्चालन गर्ने र स्वास्थ्य संस्थामार्फत नियमित परामर्श दिने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।  
 

प्रतिकृया दिनुहोस

आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै 

डडेल्धुरा, साउन १५। डडेल्धुरामा पछिल्ला केही वर्षयता आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। आधुनिक उपचारसँगै

डडेल्धुराका सातै स्थानीय तहमा आमा–शिशु स्वास्थ्य सुधार कार्यक्रम सुरु

डडेल्धुरा, साउन ८। डडेल्धुरामा आमा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले नयाँ कार्यक्रम सुरु गरिएको छ। संयुक्त

जोगबुडामा फुड पोइजनिङः दुई दिनमा १८ जनाको उपचार

डडेल्धुरा, असार ६। डडेल्धुराको जोगबुडा प्रादेशिक अस्पतालले परशुराम नगरपालिका–९ मा फुड पोइजनिङजन्य झाडापखालाको समस्या देखिएपछि उपचार सेवालाई थप