पाटन विमानस्थलमा पाँच वर्षदेखि उडान ठप्प
डडेल्धुरा, साउन २२। करोडौँ रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको बैतडीको पाटन विमानस्थल अहिले जहाज उड्ने स्थलभन्दा पनि सामाजिक सञ्जालका सामग्री (कन्टेन्ट) बनाउने गन्तव्यका रूपमा परिचित बन्न थालेको छ।
एक समय सुदूरपश्चिमका पहाडी जिल्लालाई हवाई पहुँचसँग जोड्ने आशाका रूपमा हेरिएको यो विमानस्थलमा करिब पाँच वर्षदेखि नियमित उडान नहुँदा राज्यको लगानी उपयोगविहीन बनेको छ। स्थानीय युवादेखि विभिन्न ठाउँबाट पुग्ने आगन्तुकसम्म अहिले विमानस्थलको धावनमार्गमा टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालका लागि भिडियो तथा तस्वीर खिचिरहेको दृश्य सामान्यजस्तै बनेको छ।
बैतडीको पाटनस्थित विमानस्थलमा ११ करोड रुपैयाँ खर्च गरेर धावनमार्ग कालोपत्रे गरिएको थियो। विमानस्थल सञ्चालनमा आएपछि यसले बैतडीसहित दार्चुला, बझाङ र डडेल्धुराका नागरिकलाई सहज हवाई सेवा उपलब्ध गराउने अपेक्षा गरिएको थियो। तर, ठूलो लगानीमा निर्माण गरिएको पूर्वाधार अहिले नियमित हवाई सेवाविहीन बनेपछि स्थानीयवासी निराश छन्।
पाटन विमानस्थल २०३६ सालदेखि २०५२ सालसम्म नियमित सञ्चालनमा थियो। त्यसबेला नेपालगञ्ज र धनगढीलगायत स्थानसँग हवाई सम्पर्क कायम रहँदा दुर्गम जिल्लाका नागरिकले सहज यात्रा गर्न पाएका थिए। तर, सशस्त्र द्वन्द्वका क्रममा विमानस्थलका संरचना क्षतिग्रस्त भएपछि २०५२ सालदेखि उडान पूर्ण रूपमा बन्द भयो। त्यसपछि लामो समयसम्म विमानस्थल प्रयोगविहीन रह्यो।
पछि नेपाल सरकारले विमानस्थल पुनः सञ्चालन गर्ने उद्देश्यले बजेट विनियोजन ग¥यो। करिब चार वर्ष लगाएर २० मिटर चौडा र ५८० मिटर लामो धावनमार्ग कालोपत्रे गरियो। साथै टर्मिनल भवन, घेराबारलगायत आवश्यक भौतिक संरचनाको पुनर्निर्माण सम्पन्न गरियो। करोडौँ रुपैयाँ खर्च गरेर तयार पारिएको यो संरचनाबाट नियमित हवाई सेवा सञ्चालन हुने अपेक्षा गरिए पनि त्यो लक्ष्य पूरा हुन सकेन।
स्थानीय पुष्पा भट्टका अनुसार विमानस्थल निर्माण सम्पन्न भएको वर्षौँ बितिसक्दा पनि यसको अपेक्षित उपयोग हुन सकेको छैन। ठूलो लगानीमा निर्माण गरिएको पूर्वाधार अहिले सामाजिक सञ्जालमा फोटो र भिडियो खिच्ने स्थलमा सीमित हुनु दुःखद भएको उनको भनाइ छ। उनले जहाज उड्ने विमानस्थलमा घाँस उम्रीन लागेकोमा चिन्ता व्यक्त गरिन।
अर्का स्थानीय आनन्द भट्ट पनि राज्यले निर्माण गरेको यति ठूलो संरचना उपयोगविहीन बन्नु चिन्ताको विषय भएको बताउँछन्। उनका अनुसार नियमित उडान नहुँदा विमानस्थलमा जहाज देखिने सम्भावना नै हराएको छ। अहिले धावनमार्गमा जहाजभन्दा बढी सामाजिक सञ्जालका कन्टेन्ट बनाउने युवाको भीड देखिन थालेको छ। करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरिएको संरचना तस्वीर र भिडियो खिच्ने स्थानका रूपमा सीमित हुनु राज्यको लगानी सदुपयोग नभएको उनको भनाइ छ।
विमानस्थल कालोपत्रे भएपछि केही समय धनगढी–बैतडी हवाई सेवा सञ्चालन भएको थियो। समिट एयरले प्रत्येक हप्ताको बिहीबार नियमित उडान गर्दै आएको थियो। करिब १७ मिनेटको धनगढी–बैतडी उडानका लागि चार हजार पाँच सय रुपैयाँ भाडा तोकिएको थियो। तर यात्रुको सङ्ख्या न्यून हुँदै गएपछि सेवा निरन्तर सञ्चालन हुन सकेन। २०७८ चैत १० गते समिट एयरले अन्तिम पटक पाटन विमानस्थलमा उडान भरेको थियो। त्यसयता विमानस्थल पूर्ण रूपमा सुनसान बनेको छ।
समिट एयरकी मार्केटिङ चिफ मञ्जनी श्रेष्ठका अनुसार यात्रुको अभावका कारण उडान सेवा निरन्तर सञ्चालन गर्न नसकिएको हो। यात्रु पर्याप्त नभएकाले व्यावसायिक रूपमा उडान सञ्चालन सम्भव नभएपछि सेवा स्थगित गर्नुपरेको उनले बताईन। कम्पनीले घाटा व्यहोरेर व्यवसाय गर्न नसकिने भएकाको भन्दै उनले सरकारले उडानमा सहयोग गरे पुनः हवाई सेवा सञ्चालन गर्न सकिने बताईन्।
स्थानीयवासी भने यात्रुको अभाव मात्र उडान बन्द हुनुको एकमात्र कारण नभएको बताउँछन्। नियमित तालिका, सरकारी समन्वय र हवाई सेवा प्रवद्र्धनका लागि आवश्यक पहल हुन नसक्दा विमानस्थलको उपयोग घट्दै गएको उनीहरूको भनाइ छ। नियमित सेवा सुनिश्चित भएको भए बैतडीका साथै दार्चुला, बझाङ र डडेल्धुराका यात्रुले पनि यसको लाभ लिन सक्ने उनीहरूको विश्वास छ।
सुदूरपश्चिमका पहाडी जिल्लाका बिरामी, विद्यार्थी, कर्मचारी तथा व्यवसायीलाई छिटो र सुरक्षित आवागमनको विकल्प दिने उद्देश्यले पुनर्निर्माण गरिएको पाटन विमानस्थल अहिले भने आफ्नो उद्देश्य पूरा गर्न सकेको छैन। करोडौँ रुपैयाँको लगानीबाट निर्माण भएको संरचना प्रयोगविहीन बन्दा स्थानीयले नियमित उडान पुनः सञ्चालनका लागि सरकार र सम्बन्धित वायुसेवा कम्पनीले आवश्यक पहल गर्नुपर्ने माग गर्दै आएका छन्।
यता, डडेल्धुरा सुदूरपश्चिम प्रदेशको प्रशासनिक, राजनीतिक र व्यापारिक दृष्टिले महत्वपूर्ण जिल्ला भए पनि हालसम्म यहाँ विमानस्थल निर्माण हुन सकेको छैन। प्रदेशका नौ जिल्लामध्ये डडेल्धुरा मात्रै विमानस्थलविहीन जिल्ला हो। भारतसँगको सीमावर्ती क्षेत्र तथा बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा र दार्चुलालाई जोड्ने रणनीतिक केन्द्रका रूपमा रहेको डडेल्धुराका नागरिकले हवाई सेवा लिन धनगढी वा नजिकको पाटन विमानस्थलमा निर्भर हुनुपर्ने बाध्यता थियो। तर, पाटन विमानस्थलसमेत लामो समयदेखि उडानविहीन हुँदा डडेल्धुरावासीको नजिकको हवाई पहुँच झन् कमजोर बनेको छ।
यसको असर विशेषगरी वर्षायाममा बढी देखिने गरेको छ। दशरथ चन्द राजमार्ग र भीमदत्त राजमार्ग पहिरोका कारण पटक–पटक यातायात अवरुद्ध हुँदा प्रदेश राजधानी धनगढी वा अन्य स्थानमा उपचार, सरकारी कामकाज, अध्ययन तथा अन्य अत्यावश्यक प्रयोजनका लागि जानुपर्ने नागरिकले सास्ती खेप्नुपरेको छ।
सडक अवरुद्ध भएका बेला सञ्चालनमा रहेको नजिकको विमानस्थल हुन सके बिरामी, गर्भवती, ज्येष्ठ नागरिक तथा अन्य आकस्मिक अवस्थामा रहेका व्यक्तिलाई छिटो गन्तव्यमा पु¥याउन सहज हुने भए पनि पाटन विमानस्थल बन्द यहाँका नागरिकसँग सडक यातायातको विकल्पसमेत छैन।
रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर
मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार
बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा
बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता











प्रतिकृया दिनुहोस