‘तुइनकै तारमा बाँचेको जीवन’

दार्चुला, साउन १९। दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ । यहाँका बालबालिका, बिरामी, ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामान ओसार्ने तथा सर्वसाधारणसम्मले आफ्नो ज्यानको बाजी लगाएर महाकाली नदी पार गर्न तुइन प्रयोग गर्न बाध्य छन् । 

तुइनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती व्यास गाउँपालिका–२, दुम्लिङका स्थानीय बासिन्दा । तुइन तरेर महाकाली वारपार गर्न हरेक पटक झुन्डिँदा स्थानीयवासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन् । यहाँका स्थानीय बासिन्दा नेपालतर्फको तल्लो दुम्लिङ र भारततर्फको गर्बाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध तुइन लगाएर वारपार गर्ने गर्छन् । 

महाकाली नदी दुई देशको साझा नदी भएका कारण कुनै एक पक्षले कुनै संरचना निर्माण गर्दा वा कुनै क्रियाकलाप गर्दा दुवैको सहमति आवश्यक पर्छ । यहाँका स्थानीय बासिन्दालाई अवैध तुइन लगाएर वारपार गर्नुपर्ने बाध्यता बनेको छ । वर्षात्मा नदीको बहाव बढ्दा जोखिम अझै धेरै हुने स्थानीय बासिन्दाले बताएका छन् । 

दुम्लिङसम्म जान वर्षायाममा गाडी सञ्चालन हुने सडकको सुविधा छैन । पैदल हिँड्नसमेत निकै जोखिम हुने गरेको दुम्लिङका स्थानीय प्रभात बुढाथोकीले बताउनुभयो । उपचार, शिक्षा, रोजगारी र दैनिक आवश्यकताका लागि यहाँका स्थानीय बासिन्दाले तुइनको सहारा लिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । यहाँका स्थानीयवासीले बर्सौंदेखि सो स्थानमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि माग उठाउँदै आइरहेका भए पनि समस्याको अझै समाधान हुन सकेको छैन । 

व्यास–२, दुम्लिङका वडाअध्यक्ष धिरन बुढाथोकीले २०५२ सालदेखि पुलको माग गर्दै आइरहेको तथा हालसम्म पनि सम्बोधन हुन नसकेको गुनासो गर्नुभयो । तुइन तरेर भारतको बाटो हुँदै सदरमुकाम खलङ्गा आउन एकदेखि डेढ घण्टा मात्रै लाग्छ भने नेपालबाट गाडीमा एक दिन तथा हिँडेर दुई दिनसम्म लाग्ने गरेको छ । भारततर्फ कालोपत्रे सडक छ भने नेपालतर्फको सडकमा सुन्सेराभन्दा माथिको क्षेत्रमा गाडी चल्न सक्ने अवस्था छैन । तुइनकै जोखिमपूर्ण यात्रा गर्ने क्रममा हालसम्म यहाँका ३६ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाएकामध्ये वडा कार्यालयको रेकर्डमा २३ जना छन् भने बाँकीको रेकर्ड भेटिएको छैन । विसं २०५० देखि २०८२ असार ३१ गतेसम्मको तथ्याङ्क वडा कार्यालयमा भेटिएको उहाँले जानकारी दिनुभयो ।

यस क्रममा नेपालको दुम्लिङ र भारतको घट्टेबगड सीमानाकाबाट तुइनमार्फत ओहोरदोहोर गर्ने बेला महाकाली नदीमा खसेर दुम्लिङका सीता बुढाथोकी, हिमशिखा बुढाथोकी, जयसिंह बुढाथोकी, बरुसिंह बुढाथोकी, बिनिता बुढाथोकी, लक्ष्मी भण्डारी बुढाथोकी, विमला जोहारी, जसपाल लोहार, सिन्दल भण्डारी, सचिन बुढाथोकी र नारायण बुढाथोकी बेपत्ता छन् । यस्तै व्यास–३ का भवानसिंह कुँवर, किस्मा धामी, देवसिंह धामी, इन्द्रसिंह धामी, भूपेन्द्रसिंह धामी, कुशलसिंह बुढाथोकी, वसन्ती कामी, रोहित कामी, जयसिंह धामी बेपत्ता छन् । 

महाकाली नगरपालिकाका बिरा लोथ्याल, हुम्लाका कैलाश लामा र भारतको गर्भाधारका महिमन गब्र्यालसमेत यही तुइनबाट खसेर बेपत्ता भएका वडा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सो क्षेत्रमा पुल नभएका कारण अवैध रूपमा तुइन लगाउन यहाँका स्थानीय बासिन्दा बाध्य छन् । स्थानीय बासिन्दाले दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिदिन सरकारसँग माग गरेका छन् । दुम्लिङ गाउँबाट करिब तीन घण्टाको पैदल दुरीमा पर्ने मालगाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भए पनि हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा तथा श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष रमेश जोहारीले बताउनुभयो । तल्लो दुम्लिङ क्षेत्रमा पुल निर्माणका लागि आफ्नो पार्टीले पहल गरिरहेको समेत उहाँले बताउनुभयो ।

यहाँको लेकम गाउँपालिका–३ लाली, मालिकार्जुन गाउँपालिका–६ उकु, ब्याँस गाउँपालिका–२ मालगाउँ, वडानम्बर ४ को मलघट्टे र वडानम्बर ६ को बडूगाउँमा नेपाल–भारत जोड्ने नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् । दुम्लिङमा ११५ घरधुरीका १०५ परिवारको बसोबास रहेको छ ।   GORAKHAPTRA
 

प्रतिकृया दिनुहोस

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा

बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता