अनलाइन ठगीमा परेको ३५ लाख रुपैयाँ फिर्ता गराउन प्रहरी सफल
डडेल्धुरा, कात्तिक २० । डडेल्धुरामा अनलाइन ठगीका घटना बढ्दै गए पनि प्रहरीले पीडितको रकम फिर्ता गराउनमा फलता पाएको छ। पछिल्लो डेढ वर्षमा अनलाइन ठगीबाट सर्वसाधारणले गुमाएको करिब ३५ लाख रुपैयाँ प्रहरीले फिर्ता गराएको हो। सामाजिक सञ्जालमा राखिएका आकर्षक विज्ञापन, सस्तोमा सामान उपलब्ध गराउने प्रलोभन, अनलाइन रोजगारी र चिट्ठा परेको भन्दै सर्वसाधारणबाट रकम असुल्ने प्रवृत्ति बढिरहेका बेला प्रहरीले ठगीमा परेको रकम फिर्ता गराउन पहल गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गत आर्थिक वर्ष २०८२÷८३ मा अनलाइन ठगीसम्बन्धी ५६ वटा निवेदन परेका थिए। ती घटनामा २८ लाख रुपैयाँ ठगी भएकोमा प्रहरीले १९ लाख रुपैयाँ पीडितलाई फिर्ता गराउन सफल भएको थियो। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा थप २७ वटा निवेदन परेका छन्। ती घटनामा करिब २५ लाख रुपैयाँ ठगी भएको छ। प्रहरीले तीमध्ये १६ वटा निवेदन फछ्र्योट गरी करिब १६ लाख रुपैयाँ फिर्ता गराइसकेको छ।
प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार अनलाइन ठगीमा विशेषगरी २० देखि ४० वर्ष उमेर समूहका मानिस बढी फस्ने गरेका छन्। सामाजिक सञ्जालमा देखिने विज्ञापनको विश्वास गरेर सामान खरिद गर्न रकम पठाउनेदेखि वैदेशिक रोजगारी र अनलाइन आम्दानीको प्रलोभनमा परेर सर्वसाधारण ठगिने गरेको उहाँले बताउनुभयो।
सामाजिक सञ्जालमा सस्तो मूल्यमा सामान दिने भन्दै विज्ञापन राख्ने, अग्रिम रकम पठाउन लगाउने र रकम प्राप्त भएपछि सम्पर्कविहीन हुने प्रवृत्ति देखिएको छ। त्यस्तै, अनलाइन रोजगारीका लागि आवेदन फाराम भर्दा शुल्क माग्ने, चिट्ठा परेको वा उपहार आएको भन्दै रकम असुल्ने तथा भन्सारमा कर तिर्नुपर्ने बहानामा पैसा पठाउन लगाएर ठगी गर्ने गरिएको प्रहरीको भनाइ छ। मोबाइलमा देखिने विभिन्न विज्ञापन र एपमार्फत समेत नागरिक ठगीमा पर्ने गरेका छन्।
चाडपर्वको समयमा नयाँ कपडा, खाद्यान्न तथा अन्य सामग्री खरिद गर्ने क्रम बढ्ने भएकाले अनलाइन कारोबारमा थप सावधानी अपनाउनुपर्ने उपभोक्ता तारा क्षेत्री बताउँछिन्। सामाजिक सञ्जालमा देखिने आकर्षक अफर र अत्यधिक छुटका विज्ञापन देख्नेबित्तिकै विश्वास गरेर रकम पठाउँदा ठगीमा पर्न सक्ने उनको भनाइ छ।
अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक तथा विश्वसनीय विक्रेता छनोट गर्न, विक्रेताको विवरण जाँच गर्न र रकम पठाउनुअघि कारोबारको विश्वसनीयता यकिन गर्नुपर्ने उपभोक्ता हेमा भट्ट बताउँछिन्। पछिल्लो समय अनलाइन कारोबारको प्रयोग बढिरहेको अवस्थामा उपभोक्ता आफैं पनि सचेत हुनुपर्ने उनको भनाइ छ।
प्रहरीका अनुसार ठगी गर्नेहरूले बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर फोन गर्ने र ओटीपी, पिन तथा पासवर्डजस्ता गोप्य विवरण माग्ने गरेका छन्। बैंक तथा वित्तीय संस्था र डिजिटल वालेटका आधिकारिक प्रतिनिधिले फोन गरेर यस्ता गोप्य विवरण नमाग्ने भएकाले कसैलाई पनि उपलब्ध गराउन नहुने प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक सिंहले अनलाइनमा देखिने हरेक विज्ञापन र प्रस्तावलाई सत्य मानेर विश्वास नगर्न आग्रह गर्नुभयो। अपरिचित व्यक्तिले पठाएका लिंक नखोल्न, व्यक्तिगत तथा बैंकिङ विवरण शंकास्पद वेबसाइटमा नराख्न र अनलाइनबाट सहजै आम्दानी हुने प्रलोभनमा नपर्न उहाँको सुझाव छ। कुनै प्रस्ताव वा सूचना वास्तविक हो कि होइन भन्ने यकिन गरेर मात्रै कारोबार गर्नुपर्ने उहाँले बताउनुभयो।
देउसी–भैलो राति १० बजेसम्म मात्रै खेल्न प्रशासनको आग्रह
डडेल्धुरा, कात्तिक २१ । दीपावली र छठ पर्वलाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वसाधारणलाई आग्रह
देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
डडेल्धुरा, कात्तिक २० । नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गरेको आठौँ जिल्ला अधिवेशनबाट डिल्लीराज
अछामको मेल्लेख आधारभूत अस्पताल एक वर्षदेखि बन्द
अछाम, कात्तिक २० । अछामको मेल्लेख गाउँपालिकामा सञ्चालनमा रहेको आधारभूत अस्पताल जनशक्ति अभावका कारण एक वर्षदेखि बन्द रहेको छ । गाउँपालिकाले लाखौँ
-

स्थापना दिवसमा किसान सहकारीद्वारा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफूल वितरण
-

देउवा समूहको जिल्ला अधिवेशनबाट सभापतिमा डिल्लीराज जोशी चयन
-

डडेल्धुराबाट बैतडी जादै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
-

बैतडीमा दुई महिनामा ११ अशक्त नागरिकले पाए घरदैलोमै नागरिकता
-

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा




प्रतिकृया दिनुहोस