बजेट शून्यता हटाउन नयाँ बजेट ल्याउने तयारीमा सुदूरपश्चिम सरकार

डडेल्धुरा,भदौ १७। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेट शून्यताको अवस्था अन्त्य गर्दै प्रदेश सरकारका दैनिक प्रशासनिक कामलाई सहज बनाउन नयाँ बजेट ल्याउने तयारी भइरहेको बताएका छन्। 

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले भदौभित्रै बजेट ल्याउने गरी गृहकार्य भइरहेको बताए। आवश्यक परे २४ घण्टा काम गरेर भए पनि भदौ मसान्त कट्न नदिने गरी बजेट निर्माणको तयारी भइरहेको उनले जानकारी दिए।

सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि बजेट शून्यताको अवस्था सिर्जना भएको हो। अघिल्लो सरकारले आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको थियो। मुख्यमन्त्री भट्टले भने अहिलेको बजेट शून्यताको अवस्था आफ्नो सरकारका कारण उत्पन्न नभएको दाबी गरे।

उनका अनुसार अघिल्लो सरकारले सत्ता गठबन्धनसमेत जोगाउन नसकेको, आफैंले प्रस्तुत गरेको बजेट पारित गराउन नसकेको र प्रदेशसभामा आफ्नो पक्षमा स्पष्ट अल्पमत हुँदाहुँदै पनि समयमै सत्ता हस्तान्तरण नगरेका कारण प्रदेशमा अहिलेको परिस्थिति आएको हो।

सरकारको नेतृत्व सम्हाल्दा प्रदेशको राजनीतिक तथा आर्थिक अवस्था जटिल भइसकेको मुख्यमन्त्री भट्टले बताए। यसअघि सदनको भूमिकामा रहे पनि सरकार सञ्चालनको आफ्नो यो पहिलो अनुभव भएको उनले उल्लेख गरे।

नयाँ बजेट निर्माण गर्दा विगतको बजेटलाई पूर्ण रूपमा अस्वीकार नगरी त्यसमा रहेका राम्रा कार्यक्रमलाई निरन्तरता दिने र बेथिति देखिएका पक्षलाई सुधार गर्ने सरकारको तयारी छ। बजेटलाई सन्तुलित तथा वैज्ञानिक अवधारणामा आधारित बनाउँदै सुशासन, निश्चित ‘भिजन’ र ‘मिसन’ केन्द्रित बनाउने उनले बताए।

जनताको वास्तविक आवश्यकता र प्रत्यक्ष सरोकारका विषयलाई बजेटको प्राथमिकतामा राखिने मुख्यमन्त्री भट्टको भनाइ छ। स्रोतसाधन सीमित रहेकाले सबै माग एकैपटक सम्बोधन गर्न नसकिने भन्दै उपलब्ध सम्भावनाअनुसार प्राथमिकता निर्धारण गरेर परिणाम देखिने गरी काम गर्ने उनले बताए।

प्रदेश सरकार सञ्चालनमा राजनीतिक सहकार्यलाई पनि प्राथमिकता दिने मुख्यमन्त्री भट्टको भनाइ छ। गठबन्धनमा सहभागी दललाई विश्वासमा लिनुका साथै प्रदेशसभामा रहेका सबै दलसँग पारस्परिक विश्वास र सम्बन्ध मजबुत बनाएर अघि बढ्ने उनले बताए।
 

प्रतिकृया दिनुहोस

डडेलधुरामा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी दुईदिने प्रशिक्षण सुरु

डडेलधुरा : डडेलधुरामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीका लागि सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु

जोखिम देखिएपछि विद्यार्थी समयअगावै घर पठाइए, केही बेरमै आँगन भत्कियो

डडेल्धुरा,भदौ १६। डडेल्धुराको अमरगढी नगरपालिका–१० राँइमा रहेको सहस्त्रलिङ माध्यमिक विद्यालयमा मंगलबार सम्भावित दुर्घटना टरेको छ । निरन्तरको

रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा गाड्ने तयारी

काठमाडौं, भदौ १६ । भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज