आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण बढ्दै 

डडेल्धुरा, साउन १५। डडेल्धुरामा पछिल्ला केही वर्षयता आयुर्वेदिक उपचारप्रति नागरिकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। आधुनिक उपचारसँगै दीर्घकालीन रोगको व्यवस्थापन, स्वस्थ जीवनशैली र रोगको रोकथामका लागि आयुर्वेदिक उपचार रोज्नेको संख्या वृद्धि भएपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुरामा सेवाग्राहीको चापसमेत बढेको छ। आर्थिक वर्ष २०८२÷०८३ मा केन्द्रबाट विभिन्न सेवा लिनेको संख्या १२ हजार ३१३ पुगेको छ।

पहिले सामान्य जडीबुटी र घरेलु उपचारमा सीमित मानिने आयुर्वेद अहिले जिल्लामा नियमित स्वास्थ्य सेवाको विकल्पका रूपमा स्थापित हुँदै गएको स्वास्थ्यकर्मीहरू बताउँछन्। विशेषगरी बाथ, जोर्नी दुख्ने, नशा च्यापिने, कम्मर दुख्ने, मांसपेशी तथा हड्डीसम्बन्धी समस्या, दीर्घकालीन पीडा तथा जीवनशैलीसँग सम्बन्धित समस्याका बिरामीहरू उपचारका लागि केन्द्र पुग्ने क्रम बढेको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक डा. सत्यराज जोशीका अनुसार उपचारका लागि आउने अधिकांश बिरामी दीर्घकालीन समस्याबाट पीडित हुन्छन्। ‘बाथ, जोर्नी दुख्ने, नशा च्यापिने, कम्मर र घुँडा दुख्नेजस्ता समस्या लिएर धेरै बिरामी आउनेगरेका छन्,’ उनले भने, ‘समयमै उपचार सुरु गर्ने, चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने, योग तथा स्वस्थ जीवनशैली अपनाउने बिरामीमा राम्रो सुधार देखिएको छ।’

उनका अनुसार धेरै बिरामीले औषधिमात्र नभई खानपान, दैनिक जीवनशैली र नियमित व्यायाममा परिवर्तन गर्दा पनि सकारात्मक नतिजा पाएका छन्। आयुर्वेदले रोग निको पार्ने मात्र नभई भविष्यमा रोग दोहोरिन नदिन पनि सहयोग गर्ने भएकाले यसको महत्व बढ्दै गएको उनको भनाइ छ।

आयुर्वेदिक उपचारबाट लाभ लिएका सेवाग्राहीहरूले पनि उपचारप्रति विश्वास बढेको बताएका छन्। अमरगढी नगरपालिका–८ का प्रेमसिंह साँकीले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गरिरहेको बताए। ‘पहिले बारम्बार स्वास्थ्य समस्या दोहोरिन्थ्यो,’ उनले भने, ‘नियमित औषधि सेवन गरेपछि अहिले स्वास्थ्यमा धेरै सुधार आएको छ।’

यस्तै, अमरगढी नगरपालिका–५ सेलागाउँकी विष्णुदेबी अवस्थीले चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा औषधि सेवन गर्दा राम्रो परिणाम प्राप्त भएको बताइन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरुका अनुसार सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि केन्द्रले नागरिकलाई निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ। पछिल्लो समय सेवाप्रति जनविश्वास बढेसँगै केन्द्रमा आउने बिरामीको संख्या पनि प्रत्येक वर्ष वृद्धि भइरहेको उनले बताए।

उनका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा केन्द्रबाट १२ हजार ३१३ जनाले अन्तरङ्ग तथा ओपीडी सेवा लिएका छन्। त्यस्तै ३ हजार ३८ जनाले पूर्वकर्म तथा पञ्चकर्म सेवा, २ हजार २ सय २३ जनाले योग सेवा, १ हजार ६ सय ४८ जनाले स्तनपायी सेवा तथा २ हजार ३ सय २८ जना ज्येष्ठ नागरिकले रसायन सेवा प्राप्त गरेका छन्। 

स्वास्थ्यकर्मीहरूका अनुसार पछिल्लो समय औषधिमात्र नभई योग, पञ्चकर्म तथा स्वस्थ जीवनशैलीप्रति पनि नागरिकको चासो बढेको छ। धेरै सेवाग्राहीले रोग लागेपछि मात्र होइन, रोगबाट बच्न र स्वास्थ्य सन्तुलित राख्न पनि आयुर्वेदिक सेवा लिन थालेका छन्।
 

प्रतिकृया दिनुहोस

डडेल्धुरामा पूर्ण स्तनपान गराउने आमाको संख्या बढ्दै 

डडेल्धुरा, साउन २३। विश्व स्तनपान सप्ताह मनाइरहँदा डडेल्धुरामा पूर्ण स्तनपान गराउने आमाहरूको संख्या बढ्दै गएको देखिएको छ। यद्यपि कामकाजी आमालाई

डडेल्धुराका सातै स्थानीय तहमा आमा–शिशु स्वास्थ्य सुधार कार्यक्रम सुरु

डडेल्धुरा, साउन ८। डडेल्धुरामा आमा, नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले नयाँ कार्यक्रम सुरु गरिएको छ। संयुक्त

जोगबुडामा फुड पोइजनिङः दुई दिनमा १८ जनाको उपचार

डडेल्धुरा, असार ६। डडेल्धुराको जोगबुडा प्रादेशिक अस्पतालले परशुराम नगरपालिका–९ मा फुड पोइजनिङजन्य झाडापखालाको समस्या देखिएपछि उपचार सेवालाई थप