करोडौँ लगानीका सङ्ग्रहालय प्रयोगविहीन

कैलाली, कात्तिक १४। कैलाली र कञ्चनपुरमा करोडौँ रुपियाँको लागतमा निर्माण गरिएका सङ्ग्रहालय भवन सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन कार्यालय, धनगढीको अनुदानमा निर्माण गरिएका सङ्ग्रहालय भवन संरक्षण र सञ्चालनको अभावमा जीर्ण बन्दै गएका छन् । कैलालीको घोडाघोडी नगरपालिका–४ मा पर्खालसहित निर्माण गरिएको दुईतले सांस्कृतिक सङ्ग्रहालय भवन तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । बाहिरबाट आकर्षक देखिने भवन अहिले बन्द अवस्थामा रहेको छ भने आवश्यक संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

सहरी विकास तथा भवन कार्यालय, धनगढीका इन्जिनियर दिनेश अवस्थीका अनुसार घोडाघोडी सांस्कृतिक सङ्ग्रहालय २०८० सालमा निर्माण सम्पन्न भएको हो । उहाँले एक करोड २७ लाख ९३ हजार ९१५ रुपियाँ लागत अनुमान गरिएको उक्त योजना ८२ लाख ११ हजार ४४४ रुपियाँमा २०७९ सालमा निर्माण कम्पनीसँग निर्माणको ठेक्का भएको जनाउनुभयो ।

स्थानीय दीपा जोशीले भवन निर्माणका क्रममा आफ्नै घरबाट विद्युत् र पानीको सुविधा उपलब्ध गराएको स्मरण गर्दै भवन निर्माण सम्पन्न भएदेखि नै प्रयोगमा नआएको बताउनुभयो । पर्खालमा लगाइएको ग्याबिन तारजाली भत्काएर भित्र तोडफोड गरिएको छ । केही सामानसमेत चोरी भएका छन् । भवन बनेपछि यहाँ कसैले चासो दिएको छैन । 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मा रहेको ब्रह्मदेव सङ्ग्रहालय पनि निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा सञ्चालनमा आउन सकेको छैन । इन्जिनियर अवस्थीका अनुसार २०७८ सालमा सम्पन्न उक्त योजनाको लागत अनुमान चार करोड पाँच लाख ४३ हजार ७०६ रुपियाँ रहेको थियो । ठेक्कामार्फत दुई करोड ८० लाख १० हजार ८९३ रुपियाँमा भवन निर्माण सम्पन्न गरिएको उहाँले उल्लेख गर्नुभयो ।

निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि दुवै सङ्ग्रहालय भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको छैन । स्थानीय सरकारले अपनत्व नलिँदा हस्तान्तरण प्रक्रिया रोकिएको जनाइएको छ । भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष गगनसिंह कार्कीले उक्त योजना आफ्नो कार्यकालअघि नै निर्माण भएको बताउँदै एक पटक हस्तान्तरणको प्रयास भए पनि भवन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा सहमति हुन नसक्दा वडा कार्यालयले भवनको जिम्मेवारी लिन नसकेको बताउनुभयो ।

करोडौँ खर्चेर निर्माण गरिएका सङ्ग्रहालय बर्सौंसम्म सञ्चालनमा आउन नसक्दा सरकारी लगानी खेर गएको भन्दै स्थानीयवासीले सम्बन्धित निकायसँग तत्काल सञ्चालन, व्यवस्थापन र संरक्षणको व्यवस्था गर्न माग गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जनाको उद्धार

बाजुरा, कार्तिक १४। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत

डडेल्धुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु 

डडेल्धुरा, कार्तिक १४। नेपाली कांग्रेसको देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समानान्तर जिल्ला अधिवेशन सुरु गरेको छ।

भारतमा दुर्घटनामा परी डडेल्धुराका तीन जनाको मृत्यु

डडेल्धुरा, कार्तिक १४। भारतको हिमाचल प्रदेशस्थित शिमला जिल्लामा भएको सडक दुर्घटनामा परी डडेल्धुराको आलिताल गाउँपालिकाका तीन जनाको मृत्यु भएको छ।

↑