‘संघर्षले बनाएको सफल भविष्य’
डडेल्धुरा, असार २५ । मिहिनेत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो । त्यस्ता व्यक्तिहरूलाई निजामती सेवामा जाने प्रवेश बिन्दु लोकसेवा आयोगले लिने परीक्षा हो । प्रयास गरेपछि अवश्य पनि सफल भइन्छ भन्ने मेरो मान्यता छ । निजामतीमार्फत देशको सेवा गर्न सकिन्छ भन्ने उत्साह बोकेर म लोकसेवाको तयारीमा लागेको थिएँ । अन्ततः सफल पनि भएँ । निरन्तरको मिहिनेत र आत्मविश्वास बोकेर अघि बढेको खण्डमा लोकसेवाको परीक्षामा सफलता हात लाग्छ ।
अहिलेको सफलतापछि कहिले फाटेको लुगा लगाएर त कहिले चप्पल विना स्कुल पुग्ने बाल्यकालको जिन्दगीलाई स्मरण गर्नुहुन्छ, डडेल्धुराको अमरगढी नगरपालिका –३, कोटेउडाका गोपालदत्त पाण्डे । उहाँ आज सरकारी सेवामार्फत राष्ट्र निर्माणको जिम्मेवारी सम्हालिरहनु भएको छ ।
शुरुवात अभावबाटै भयो
गोपालदत्त पाण्डेको बाल्यकाल सहज थिएन । परिवारको आर्थिक अवस्था सामान्यभन्दा पनि कमजोर थियो। दैनिक जीवन चलाउनसमेत गाह्रो हुने अवस्थामा उहाँले बाल्यकाल बिताउनु भयो। चिसो समयमा नांगो खुट्टा विद्यालय जानुपर्ने, चप्पलको अभाव, फाटेका कपडामा टालो लगाएर पढ्नुपर्ने समय उहाँले भोग्नुभयो। यद्यपि ती सबै कठिनाइहरू उहाँको मनोबल तोड्न सकेनन्।
शिक्षा र आत्मनिर्भरता प्रति अगाध विश्वास
शिक्षामा गहिरो लगाव राख्ने गोपालदत्तले प्रारम्भिक शिक्षा स्थानीय विद्यालयबाट प्राप्त गर्नुभयो । माध्यमिक तहसम्मको पढाइ महेन्द्र मावि अमरगढीबाट सम्पन्न गर्नुभयो । आर्थिक कठिनाइका कारण कलेज जानसमेत हम्मे हम्मे हुने अवस्थामा उहाँले कमाउदै पढ्दै डडेल्धुरा बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहसम्मको पढाइ पूरा गर्नुभयो ।
उहाँ भन्नुहुन्छ, “दुःख सहन सक्ने बानी थियो, तर पढाइ छाड्न मन लाग्दैनथ्यो। कहिले लगतार हप्तौँ क्याम्पस जान नसक्ने हुन्थेँ, तर पुस्तक कहिल्यै टाढा भएन ।”
शिक्षण पेशा : पहिलो मोह, पहिलो सफलता
पढाइसँगै उहाँ शिक्षण पेशामा लाग्नुभयो। शिक्षणमा उहाँको १६ वर्ष बित्यो। स्थायी शिक्षकको रूपमा विद्यालयमा काम गर्दा विद्यार्थीहरूलाई पढाउन, उनीहरूका अभिभावकसँग संवाद गर्न, बालबालिकाको भविष्य निर्माणमा योगदान गर्न उहाँलाई असाध्यै रमाइलो लाग्थ्यो।
उहाँका अनुसार, “विद्यालय भनेको मलाई दोस्रो घरजस्तै लाग्थ्यो। विद्यार्थीसँगको सम्बन्ध, उनीहरूको माया, त्यो आत्मिक सन्तुष्टि—कुनै पैसाले किन्न सकिँदैन।”
लोकसेवातर्फको पाइला
यद्यपि, उहाँको सपना यहीँ मात्र सीमित थिएन। शिक्षणसँगै उहाँले लोकसेवा आयोगद्वारा सञ्चालित परीक्षाहरूको तयारी चुपचाप अघि बढाउँदै जानुभयो। दैनिक विद्यालयको काम, गृहकार्य, र गृहजिम्मेवारीसँगै सुत्ने बेलामा पढ्ने, शनिबार छुट्टीमा अभ्यास गर्ने, आफैँसँग आत्ममूल्यांकन गर्ने कार्य निरन्तर चलिरह्यो।
अन्ततः २०७९ सालमा उहाँले प्राविधिक सहायक पदमा निजामती सेवामा प्रवेश गरेर आफ्नो अर्को ठूलो सपना पुरा गर्नुभयो।
दुवै पाटोको अनुभव: शिक्षा र प्रशासन
२०७९ मा सरकारी सेवामा प्रवेश गरेपछि २०८१ सालदेखि उहाँलाई आफ्नै गृह जिल्ला डडेल्धुराको शिक्षा विकास तथा समन्वय इकाईमा सरुवा गरियो। अहिले उहाँ शिक्षणसँग सम्बन्धित नीतिगत तथा प्रशासनिक कार्यमा सक्रिय हुनुहुन्छ।
शिक्षण पेसाको लामो अनुभवका कारण उहाँलाई विद्यार्थी, शिक्षक र विद्यालयको आवश्यकताबारे गहिरो बुझाइ छ। यही बुझाइ अब नीतिगत कार्यान्वयनमा प्रयोग हुँदैछ । उहाँ भन्नुहुन्छ, “कक्षा कोठामा पढाउने अनुभव अहिले नीति निर्माण, अनुगमन र व्यवस्थापनमा उपयोग भइरहेको छ। शिक्षामा सुधार ल्याउन अब प्रत्यक्ष हैन, अप्रत्यक्ष तर प्रभावशाली भूमिका खेल्न पाउँदा गर्व लाग्छ।”
पारिवारिक प्रेरणा र भावनात्मक पक्ष
गोपालदत्त आज जुन स्थानमा हुनुहुन्छ, त्यसको श्रेय उहाँले आफ्नो आमालाई, गुरू प्रेम साउदलाई, र दाजु गणेशदत्त पाण्डेलाई दिनुहुन्छ । उहाँका बुवा भने छोराको यो सफल यात्रा देख्न नपाई अल्पायुमै दिवंगत हुनुभयो। जुन कुरा स्मरण गर्दा उहाँ भावुक हुनुभयो ।
उहाँ भन्नुहुन्छ, सपना देख्नुपर्छ, तर सपना देखेपछि त्यसको लागि जग बसाउनुपर्छ। “लोकसेवा पास गर्नु सम्भव छ, यदि मनबाट चाह्यो भने। विदेश जानु ठूलो कुरा होइन, स्वदेशमै बसेर इमान्दारीपूर्वक सेवा गर्दा आत्मसन्तुष्टि मिल्छ ।”
आमाबुबाविहीन बाल्यकालदेखि २५ वर्षको निरन्तर शिक्षण यात्रासम्म
डडेल्धुरा: बैतडीको सुर्नया गाउँपालिका–३ मा २०३५ सालमा जन्मिएकी मानमती भट्टले जीवनको सुरुवातमै आमाबुबाको स्नेह गुमाइन्। छ महिनाको उमेरमै आमाको
डडेल्धुरामा महिला नेतृत्व सशक्तिकरणका लागि सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न
डडेल्धुरा । नेपालमा महिलाको राजनीतिक नेतृत्व सशक्त बनाउन आयोजित सिकाई आदान प्रदान कार्यक्रम डडेल्धुरामा सफलतापूर्वक सम्पन्न भएको छ । अमरगढी
सकसपछिको संघर्षबाट सफलताको स्वाद चाखेका खडक महता
ममता भट्ट, डडेल्धुरा, चैत्र ९ : आजभोली बिद्याथीहरु गाउँमा छैनन् । गाउँलेहरु सहरिया भईसके सामुदायिक बिद्यालयकोे विशेषता भुलिसकेका छन् । गाउँलेहरुले
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस