खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयः दरवन्दी ३, कार्यक्षेत्र २, कर्मचारी १ जना !

तर्कराज भट्ट, डडेल्धुरा, पुष । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेल्धुरा (अमरगढी), मा कर्मचारी नहुँदा समस्यामा परेको छ । डडेल्धुरा र बझाङ जिल्लाका सबै स्थानिय तह हेर्ने गरी २०७५ सालमा स्थापना भएको कार्यालयमा दरबन्दी अनुसार ३ जना कर्मचारी छन्, २ प्राविधिक सहायक र १ जना खाद्य अनुसन्धान अधिकृत। तर, हाल कार्यरत कर्मचारीको अभावले कार्यालयका नियमित कामकाजमा चुनौती थपिएको छ। 

जिम्मेवारी र चुनौती:
कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका खाद्य अनुसन्धान अधिकृत अध्ययन बिदामा छन् भने एक जना प्राविधिक सहायक काजमा दाङ गएका छन्। यसकारण, कार्यालयमा हाल एक मात्र प्राविधिक सहायक अभिलाषा अर्यालले सबै जिम्मेवारी बहन गर्दै आएकी छन्। दरबन्दीका हिसावले पूर्णता देखिएपनि कार्यालयमा भने एक जनाले मात्रै कामकाज गर्नुपर्ने बाध्यता छ ।

डडेल्धुरा र बझाङ जिल्लाको खाद्य गुणस्तर तथा बजार अनुगमन गर्ने जिम्मेवारी पाएको यस कार्यालयमा ३ जना कर्मचारीको दरबन्दी भए पनि हाल जम्मा १ जना प्राविधिक सहायकले मात्र सबै काम सम्हाल्नुपरेको छ ।

महिना देखीप्राविधिक सहायक’, ‘अधिकृत’ को जिम्मेवारी सम्हाल्दै: डडेल्धुराको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा अधिकृत तहका कर्मचारी अध्ययन बिदामा रहेपछि, पछिल्लो २ महीनादेखि कार्यालयका प्राविधिक सहायकले जिम्मेवारी सम्हाल्दै आएका छन्। अधिकृत २ वर्षका लागि अध्ययन बिदामा रहेको जनाईएको छ ।

अधिकृत अध्ययन बिदामा रहेको अवस्थाले कार्यालयको नियमित कार्यसम्पादनमा असर पर्न सक्ने भन्दै प्राविधिक सहायकले जिम्मेवारी लिएका हुन्। हाल कार्यालयको प्रशासनिक र प्राविधिक गतिविधि तिनै प्राविधिक सहायकको नेतृत्वमा सञ्चालन भइरहेको छ।

अध्ययन बिदा लिएर अधिकृत पद खाली हुँदा कार्यालयमा वैकल्पिक व्यवस्थापन गर्न कठिनाइ भएको थियो। यस्तो अवस्थामा प्राविधिक सहायकले जिम्मेवारी सम्हालेको कदमले कार्यालय सञ्चालनमा केही सहजता ल्याए पनि, यसले दीर्घकालीन रूपमा प्रशासनिक व्यवस्थापनको प्रभावकारिता र पारदर्शितामा प्रश्न उठाएको छ।

दुई जिल्लाको जिम्मेवारी, सीमित जनशक्ति:
कार्यालय डडेल्धुरामा रहेको भए पनि डडेल्धुरा र बझाङ दुई वटै जिल्लामा खाद्य अनुगमन, गुणस्तर परीक्षण र उपभोक्ताको गुनासो सम्बोधन गर्ने जिम्मेवारी यो कार्यालयको हो। तर, एक कर्मचारीले मात्र यी सबै काम सम्हाल्नुपर्ने हुँदा सेवा प्रवाहमा चुनौती उत्पन्न भएको छ। 

कार्यालयका निमित्त प्रमुख तथा प्राविधिक सहायक अभिलाषा अर्यालका अनुसार कर्मचारीको अभावले गर्दा दुई जिल्लामा काम गर्ने जिम्मेवारी बोकेर अनुगमन लगायतका कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न कठिन भएको छ। 

‘दुई जिल्लामा कार्यालयका सबै काम गर्ने जिम्मेवारी एक्लैले सम्हाल्नुपर्दा समय व्यवस्थापन गर्न गाह्रो छ,’ अर्यालले भनिन्। दुई जिल्लामा अनुगमन र कार्यालयका अन्य काम सम्हाल्न एक जनाको मात्र भर पर्नु पर्दा समय व्यवस्थापन कठिन हुने गरेको अर्यालको भनाई छ । 

‘दुई जिल्लाको काम एक्लैले हेर्नुपर्दा धेरै ठाउँमा पुग्न कठिनाइ हुन्छ। तर पनि बजार अनुगमन जस्ता महत्वपूर्ण काम लक्ष्यअनुसार गरिरहेका छौँ,’ अर्यालले भनिन्।

फिल्डमा जाँदा सटर डाउन:
कार्यालयले बजार अनुगमन र खाद्य गुणस्तर जाँच गर्ने जिम्मेवारी सम्हालिरहेको छ। तर, अनुगमनका क्रममा फिल्डमा जाँदा कार्यालयका अन्य काम ठप्प हुने बाध्यता छ। 

‘हामीलाई सबै पालिका हेर्ने जिम्मेवारी छ । कुनै ठाउँमा एकै दिनमा अनुगमन सकिदैन, धेरै ठाउँमा कच्ची बाटाहरु छन, टाढा–टाढाका पालिकाहरुमा अनुगमनमा जाँदा सटर बन्द गर्नुपर्ने बाध्यता छ ।’ उनले भनिन्। 

‘कार्यालयमा करारमा नियुक्त १ जना सहयोगी मात्र रहेका छन्, तर उनलाई पनि फिल्ड अनुगमनमा जाँदा कहिलेकाँही साथमै लैजानु पर्ने अवस्था आउछ ।’ अर्यालले भनिन्। ‘नियमित बजार अनुगमन गर्न सकिरहेकै छौँ, तर फिल्डमा जाँदा कार्यालयका अन्य काम रोक्नुपर्ने अवस्था छ।’ उनले थपिन्। 

कर्मचारीको अभावमा कार्यालयका काम प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन। कार्यालयले बजार अनुगमनलाई प्राथमिकता दिएको भए पनि सीमित स्रोतसाधन र जनशक्तिका कारण अनुगमनका क्रममा अन्य काम रोक्नुपर्ने बाध्यता रहेको हो । 

अभावका बावजुत, नियमित कामलाई निरन्तरता:
कार्यालयका निमित्त प्रमुख तथा प्राविधिक सहायक अभिलाषा अर्यालका अनुसार कर्मचारी अभावकै बीच कार्यालय आफ्नो नियमित कामलाई निरन्तरता दिन प्रयासरत छ। 

अधिकृतको अभावका बावजुद कार्यालयले नियमित कामलाई निरन्तरता दिँदै सेवाग्राहीलाई सेवा उपलब्ध गराइरहेको छ । खाद्य सुरक्षा र गुणस्तर नियन्त्रणजस्ता महत्त्वपूर्ण काममा आएका चुनौतीलाई व्यवस्थापन गर्दै कार्यालयले नियमित कामकाजलाई अघि बढाइरहेको प्राविधिक सहायक अर्यालले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेलधुराले खाद्य सुरक्षा अनुगमनलाई तिव्रता दिएको छ । 

आव २०८१/८२को सुरुको तिन महिनामा मात्र कार्यालयले डडेल्धुरा र बझाङका ३ सय २५ वटा फर्महरूमा अनुगमन गरेको छ । जस अन्तरर्गत डडेल्धुरामा २ सय ५८ फर्म तथा बझाङमा ६७ वटा फर्महरुको अनुगमन गरिएको छ । यस्तै कार्यालयले उक्त अवधिमा २५ वटा खाद्य वस्तुको नमूना संकलन गरिएको छ । संकलन गरिएका नमूना मध्ये २४ वटाको नतिजा प्राप्त हुँदा ४ वटा नमूनामा अखाद्य पदार्थ फेला परेका जनाईएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजारमा अनुगमन कार्यलाई तीव्र दिएकोछ । चाडपर्व तथा अषाढ मसान्तमा मात्रै केन्द्रीत हुने अनुगमनलाई पछिल्लो समय बर्षै भरि अनुगमन गर्ने कार्य भईरको कार्यालयका निमित्त प्रमुख अर्यालले बताए ।

एक जनाकै दौडधुप:
बजार अनुगमन, गुणस्तर परीक्षण र उपभोक्ताको गुनासो सम्बोधन जस्ता काम समयमै सम्पन्न गर्न एक जनाको मात्र प्रयास पर्याप्त नहुने देखिएको छ । स्थानीय तहमा खाद्य सुरक्षा र गुणस्तर नियन्त्रण सुनिश्चित गर्न यो कार्यालयको भूमिका महत्वपूर्ण छ। तर, प्राविधिक जनशक्तिको कमी र दुई जिल्लाको कार्यक्षेत्रले चुनौती थपेको छ। तर, मन्त्रालयले दिएको जिम्मेबारी र लक्ष्य पूरा गर्न कार्यालयमा कार्यररत एक जनाले नै दौडधुप गर्नु परेको छ । 

‘दुई जिल्लाका काम एक्लैले सम्हाल्नुपर्दा धेरै चुनौती खेप्नुपर्छ। बजार अनुगमनका काम लक्ष्यअनुसार गरिरहेका छौँ, तर समय व्यवस्थापनमा समस्या छ,’अर्यालले भनिन्।

डडेल्धुरामा कार्यालय भई डडेल्धुरा र बझाङ जिल्लामा कार्यक्षेत्र रहेको कार्यालयले विभिन्न फर्महरूमा अनुगमन गरी नमूना संकलन गर्ने गरेको तथा परीक्षणका क्रममा केही नमूना खाद्य ऐन बमोजिम प्रतिकूल फेला परेको कार्यालयका निमित्त प्रमुख अभिलाषा अर्यालले बताए ।

खाद्य ऐन विपरीत फेला परेका वस्तुहरूबारे आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ । कार्यालयले उपभोक्तालाई सतर्क रहन आग्रह गर्दै अस्वस्थकर र दूषित खाद्य वस्तु बेच्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन थप कडाइ गरिने जनाएको छ ।

अनुगमन संगै सचेतना पनि:
कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमनलाई तिव्र गरिएको छ । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेवल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ ।

खाद्य सुरक्षा र गुणस्तर नियन्त्रणमा अनुगमनको महत्वको साथै स्थानीय उपभोक्ता र व्यापारीलाई सचेत बनाउने कार्यमा पनि कार्यालय सक्रिय रहेको छ। अनुगमन मात्र नभएर, कार्यालयले उपभोक्ताहरूलाई खाद्य सुरक्षा र स्वास्थ्यका बारेमा शिक्षा दिने उद्देश्यले सचेतना पनि जगाईरहेको छ ।

अनुगमन र कारबाहीको शृङ्खला बढ्दा उपभोक्ता र ब्यापारी सचेत भएको कार्यालयको दाबी छ । बजार अनुगमनका क्रममा उपभोक्ताहरुलाई गर्न नहुने काम र कारबाहीको व्यवस्था बारेमा समेत जानकारी दिने गरिएको छ ।

सम्बन्धित निकायको ध्यानाकर्षण आवश्यक:
कर्मचारीको अभाव र दुई जिल्लामा कार्य क्षेत्रको दबाबले कार्यालयका काम प्रभावकारी रूपमा सम्पन्न हुन सकेका छैनन्। खाद्य सुरक्षा सुनिश्चित गर्न, बजारमा विक्रि वितरण हुने वस्तुको गुणस्तरको परीक्षण र उपभोक्ताको गुनासो समाधान गर्न कर्मचारी व्यवस्थापनमा सुधारको खाँचो रहेको छ ।

डडेलधुरा र बझाङ जिल्लाका उपभोक्ताहरूको स्वास्थ्य र खाद्य सुरक्षामा असर नपर्ने गरी कार्यालयको सेवा प्रवाह सुनिश्चित गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

‘स्विजरल्यान्डको बाउ’ बडिमालिका ! के–के छन् मुख्य आकर्षण ?

बाजुरा, बैसाख ५। नेपाली सेनाले अनेकौं चुनौती छिचोल्दै गत असारमा पुरानो मन्दिर जिर्णोद्वार गर्दै पुरातात्त्विक मापदण्डमा नयाँ मन्दिर निर्माण गरेपछि

शिक्षकदेखि सांसदसम्म: ३४ वर्षे कांग्रेस किल्ला तोड्दै संसद पुगेका जोशी

डडेल्धुरा, फागुन २३ । डडेल्धुराको राजनीतिक इतिहासमा यसपटक ठूलो परिवर्तन देखिएको छ। ३४ वर्षदेखि कायम रहेको नेपाली कांग्रेसको वर्चस्व तोड्दै

महिनावारीमैत्री संरचनाको अभावः विभेद अन्त्यका छैन प्रयास

ममता भट्ट,डडेल्धुरा ः डडेल्धुरा सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी