पाँचवर्षे कार्यकालको अन्तिम वर्षमा जनप्रतिनिधिः के के गरे ?

डडेल्धुरा, कात्तिक ७ । डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह छन् । यी सातवटै स्थानीय तह ५२ वटा वडामा विभाजित छन् । सात स्थानीय तहका ५२ वडाबाट २०७९ मा निर्वाचित भएर आएका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल अहिले अन्तिम वर्षमा पुगेको छ । करिब चार वर्षको कार्यकाल पूरा गरिसकेका उनीहरू अहिले आफूले गरेका काम, पूरा भएका योजना, अधुरा प्रतिबद्धता र आगामी अवधिमा गर्नुपर्ने कामको समीक्षा गर्न थालेका छन् ।

चार वर्षअघि स्थानीय तहको निर्वाचनमा मत माग्दै गर्दा जनप्रतिनिधिहरूले नागरिकलाई विकासका थुप्रै सपना देखाएका थिए । गाउँमा सडक पु¥याउने, खानेपानीको समस्या समाधान गर्ने, विद्युत् विस्तार गर्ने, विद्यालय सुधार्ने, स्वास्थ्य सेवा गाउँमै पु¥याउने र कृषिलाई उत्पादनसँग जोड्ने प्रतिबद्धता उनीहरूका एजेन्डामा थिए । अहिले त्यही जनप्रतिनिधिको पाँचवर्षे कार्यकालको अन्तिम वर्ष चलिरहेको छ ।

चार वर्षको अवधिमा डडेल्धुराका स्थानीय तहका वडाहरूमा सडक, खानेपानी, सिँचाइ, विद्युत्, विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय, खेलमैदान तथा कृषि पूर्वाधारका काम भएको वडाध्यक्षहरू बताउँछन् । कतिपय वडामा वर्षौंदेखिको खानेपानी समस्या समाधान भएको छ । कतै गाउँसम्म सडक पुगेको छ । कतै विद्यालयमा कक्षा थपिएका छन् भने कतै स्वास्थ्य संस्थाको पूर्वाधार सुधारिएको छ । किसानका लागि सिँचाइ, पोलिहाउस, बीउबिजन र कृषि उपकरण वितरणका कार्यक्रम पनि सञ्चालन भएका छन् ।

तर चार वर्षपछि पनि सबै एजेण्डा पूरा भएको छैन । केही बस्तीमा खानेपानी पुग्न बाँकी छ । कतिपय सडक सञ्चालनमा आए पनि कालोपत्रे हुन सकेका छैनन् । केही योजना प्रक्रियामै छन् । कतै आफ्नै वडा कार्यालयसमेत बन्न सकेको छैन । बजेट अभाव, भौगोलिक विकटता र ठूला योजनाका लागि प्रदेश तथा संघीय सरकारमा निर्भर हुनुपर्ने बाध्यता रहेको वडाध्यक्षहरू बताउँछन् ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–५ का वडाध्यक्ष टंकबहादुर क्षेत्रीले चार वर्षमा बाटोघाटो निर्माणसँगै किसानलाई पाइप, पोलिहाउस र हाते ट्याक्टर वितरण गरिएको बताए । पशुपालक किसानका लागि पशु खोप सेवा तथा विद्यालयका लागि बजेट विनियोजन र विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए। ‘चुनावमा गरेका प्रतिबद्धतामध्ये करिब ७० प्रतिशत काम पूरा भएको छ,’ क्षेत्रीले भने । उनका अनुसार अब खानेपानी, कृषि तथा बाँकी रहेका बाटोघाटो मर्मतसम्भारका काममा वडाको ध्यान छ । अमरगढीको मुख्य बजार बागबजार क्षेत्रको सडक विस्तारका लागि संघिय सरकारबाट मुआब्जा वितरण भइसके पनि सडक अझै व्यवस्थित हुन बाँकी रहेको उनले बताए ।

अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खडक बोहराको अनुभवमा चुनावका बेला जनतामाझ लगिएका सबै एजेन्डा कार्यान्वयन भइसकेका छैनन् । सुनपोखरी सिँचाइ, वडा स्वास्थ्य, गर्खा–शैलेश्वर सडक र कृषि उनका चुनावी एजेन्डा थिए । यीमध्ये केही काम अघि बढेको र केही अझै प्रक्रियामा रहेको उनले बताए ।

उनका अनुसार सडक विस्तारसँगै सुनपोखरी निर्माण गर्न सके किसानलाई ठूलो फाइदा पुग्नेछ । ‘सिँचाइ र सडक दुवै भयो भने किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म पु¥याउन सहज हुन्छ,’ उनले भने । चार वर्षमा आफ्नै वडा कार्यालय निर्माण हुनु भने उनले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।

अमरगढी नगरपालिका–८ का वडाध्यक्ष नरबहादुर साँकीले भने नागरिकका अपेक्षा धेरै भए पनि वडासँग त्यसअनुसारको बजेट नभएको बताए । उनका अनुसार खनमडा र लटाउलीमा खानेपानी पु¥याइएको छ । डकले र रातागुन क्षेत्रमा लिफ्ट प्रविधिबाट पानी पु¥याइएको छ । स्वास्थ्य चौकी तथा विद्यालयका भौतिक संरचनामा पनि सुधार गरिएको उनले बताए ।

दोस्रोपटक निर्वाचित साँकीले आफू घरदैलोमै पुगेर सेवा दिइरहेको र वडामा खासै असन्तुष्टि नआएको दाबी गरे । तर वडा कार्यालय भवन निर्माण गर्न नसकिएको उनले स्वीकार गरे । त्यसका लागि नगरपालिका र प्रदेश सरकारसँग आग्रह गरिएको उनले बताए ।

अमरगढी नगरपालिका–३ का वडाध्यक्ष तीर्थबहादुर ऐरले पनि खानेपानी, सिँचाइ, स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम भएको बताए । प्रदेश पूर्वाधारको कार्यक्रमअन्तर्गत घटाल–चिर्केटे हुँदै जोगबुडा जोड्ने सडक निर्माणलाई उनले महत्वपूर्ण मानेका छन् । तरकारी उत्पादनका लागि उपयुक्त क्षेत्र भएकाले सडकले किसानलाई बजारसम्म जोड्ने उनको भनाइ छ ।

उनका अनुसार वडाका अधिकांश घरमा ‘एक घर, एक धारा’ पुगेको छ । तर लरडा, पथरोडा, रजोडा र साउन गाउँमा अझै खानेपानी पु¥याउन सकिएको छैन । ‘एक घर, एक धारा’को लक्ष्य लिइए पनि एउटै वडाभित्र केही बस्ती छुट्नुले स्थानीय पूर्वाधार विकासको अर्को पाटो देखाउँछ ।

नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर विष्टका लागि शिक्षा र कृषि प्राथमिकतामा परेका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको उनले बताए । साना सिँचाइ र फलामे पोलिहाउस निर्माणमार्फत कृषिमा सहयोग गरिएको उनको भनाइ छ ।

मणिलेक स्वास्थ्य चौकी र बडम गाउँघर क्लिनिकबाट स्वास्थ्य सेवा उपलब्ध भइरहेको तथा रडुवा–बडम सडक पिच र बडम–बेडुपानी सडक स्तरोन्नतिको काम अघि बढेको उनले बताए । विद्युत् प्राधिकरणसँग समन्वय गरेर नयाँ लाइन विस्तारको काम पनि भइरहेको छ ।


भागेश्वर गाउँपालिका–३ का वडाध्यक्ष डम्बरराज जोशीले विकासका योजनामा दलित, महिला, सीमान्तकृत समुदाय र किसानलाई प्राथमिकता दिएको बताए । चुनावमा जनतालाई भ्रममा नपारी काम गर्ने प्रतिबद्धतासहित मत मागेको र सोहीअनुसार काम गरिरहेको उनको दाबी छ । तर खेलमैदान, सडकलगायतका केही काम बाँकी छन् । ती योजना पूरा गर्न संघीय सरकारको सहयोग आवश्यक पर्ने उनले बताए ।

अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारी भने दोस्रोपटक निर्वाचित हुन् । उनको अनुभवमा २०७४ यता वडामा धेरै परिवर्तन भएको छ । खानेपानी, विद्युत्, सडक, विद्यालय तथा कुलो निर्माणका काम भएको र ‘एक घर, एक धारा’मार्फत घरघरमा खानेपानी पु¥याइएको उनले बताए ।

कृषितर्फ तरकारीको बीउबिजन वितरण भइरहेको छ । गाउँमै बसेर कृषि गर्ने किसानलाई अनुदान, बीउ र अन्य सहयोग उपलब्ध गराइएको उनको भनाइ छ । तर युवालाई विदेश जानबाट रोक्न नसकिएको उनले स्वीकार गरे । भौतिक पूर्वाधार निर्माणसँगै गाउँमै रोजगारी सिर्जना गर्ने चुनौती अझै उस्तै रहेको उनको भनाइ छ ।

गन्यापधुरा गाउँपालिका–२ का वडाध्यक्ष मनोजबहादुर देउवाले सडक, खेलमैदान र आधारभूत अस्पताल निर्माणलाई आफ्नो वडाका महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । कुलो, धारा र सिँचाइमा बजेट प्रयोग गरिएको तथा कृषिमा लाग्नेलाई तालिम दिइएको उनले बताए । गन्यापधुरा सदरमुकाम जोड्ने रडुवा–गणेशपुर सडक पक्की बनाउने काम भइरहेको छ । आवश्यकताका आधारमा जनताको घरमै पुगेर सेवा दिइरहेको पनि देउवाले बताए ।

आलिताल गाउँपालिका–१ का वडाध्यक्ष यज्ञबहादुर देउवाका लागि भने विकास निर्माणसँगै विपद् व्यवस्थापन ठूलो जिम्मेवारी बनेको छ । पहिरो प्रभावित परिवारको व्यवस्थापनलाई वडाले प्राथमिकतामा राखेको उनले बताए । भौगोलिक जोखिमका कारण कतिपय वडामा स्थानीय सरकारको नियमित विकास बजेटबाटै विपद्का समस्या सम्बोधन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

आलिताल गाउँपालिका–२ का वडाध्यक्ष प्रमोदबहादुर मल्लले गैरागाँखेत सडकमा यातायात सञ्चालनमा ल्याउन सफल भएको र त्यसलाई कालोपत्रे गर्न पहल भइरहेको बताए । साउखर्क–उणीकोट सडक निर्माण भएको र थप सुधार गर्दै जाने उनको भनाइ छ ।

शिक्षामा भने उनको वडाले गाउँमै कक्षा १२ सम्मको पढाइ सञ्चालन गरेको छ । विद्यार्थीलाई निःशुल्क अध्यापनसँगै पोसाक र शैक्षिक सामग्री वितरण गरिएको उनले बताए । गाउँमै माध्यमिक तहसम्म पढाइ सञ्चालन हुँदा विद्यार्थी र अभिभावकलाई टाढाको विद्यालयमा निर्भर हुनुपर्ने बाध्यता कम हुने उनको दाबी छ ।

परशुराम नगरपालिका–२ का वडाध्यक्ष रमेश बोहराले आफ्नो वडा भौगोलिक रूपमा विकट भएकाले सडक र विद्युत्लाई प्राथमिकता दिएको बताए । नियमित रूपमा वडाका काम अघि बढिरहेको उनको भनाइ छ ।

परशुराम नगरपालिका–३ का वडाध्यक्ष नरेश खवासले विद्यार्थीको स्वास्थ्य परीक्षण, स्वास्थ्य शिविर र विद्युतीकरणका काम भइरहेको बताए । स्वास्थ्य र विद्युत् पहुँच विस्तारलाई उनले वडाका प्राथमिकताका रूपमा राखेका छन् ।
 

प्रतिकृया दिनुहोस

भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि

कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा

बैतडीमा ४.२ रेक्टरस्केलको भूकम्प

बैतडी, कात्तिक ८ । बैतडीको डिलासैनी केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार दिउँसो १ः०६ बजे डिलासैनी गाउँपालिका –३, रुद्रेश्वर

बडा दसैँको अन्तिम दिनः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँः नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा

↑