सञ्चालनमा नआउँदै जीर्ण बन्दै बार्जुकोट भ्यूटावर

बाजुरा, असोज १६ । बाजुराको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको बार्जुकोट दरबार क्षेत्रमा निर्माण गरिएको भ्यूटावर सञ्चालनमा नआउँदै जीर्ण बन्दै गएको छ। आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु गरिएको उक्त टावरको करिब ७५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। निर्माण सुरु भएको सात वर्ष पुग्न लाग्दासमेत टावर निर्माण सम्पन्न नभएपछि संरचना जीर्ण बन्दै गएको हो।

प्रदेश सरकारअन्तर्गतको पर्यटन विकास मन्त्रालयको आर्थिक सहयोगमा आव २०७७÷७८ मा बार्जुकोटमा भ्यूटावर निर्माण सुरु गरिएको टावर निर्माण समितिका सचिव डक्मर रावतले बताउनुभयो। टावर निर्माण उपभोक्ता समितिले उक्त रकममध्ये पहिलो वर्ष चार लाख र दोस्रो वर्ष ३० लाख रुपियाँ मात्र भुक्तानी पाएको जनाएको छ। बाँकी रकम प्राप्त नभएपछि टावर निर्माणको काम अधुरै रहेको रावतले बताउनुभयो।

आव २०५८÷५९ मा सशस्त्र द्वन्द्वका क्रममा नेकपा माओवादी पक्षबाट भत्काइएको बार्जुकोट दरबारको पुनर्निर्माण गरी सङ्ग्रहालयका रूपमा सञ्चालन गरिएको भए भ्यूटावर निर्माणभन्दा बढी प्रभावकारी हुने स्थानीयको भनाइ छ। भ्यूटावर सञ्चालन गर्ने निकाय सक्रिय नहुँदा संरचनामा विकृति बढ्दै गएको छ। अहिले स्थानीयवासीलाई समेत टावर आसपासमा हिँडडुल गर्न डर लाग्ने अवस्था रहेको बताइएको छ।

बार्जुकोट दरबार आफैँमा अग्लो स्थानमा रहेकाले त्यहाँ भ्यूटावर निर्माण गर्नुभन्दा दरबारको पुनर्निर्माण गरी सङ्ग्रहालय बनाउने योजना नगरपालिकाको रहेको नगरप्रमुख रामबहादुर बाँनीयाले बताउनुभयो। पहिला जग्गाधनीले सहमति जनाएपछि नगरपालिकाले पनि जग्गा आफ्नो नाममा ल्याउने प्रक्रिया अघि बढाएको थियो। तर, पछि उहाँले असहमति जनाएपछि थप प्रक्रिया अघि बढाउन नसकिएको नगरप्रमुख बाँनीयाले बताउनुभयो।

आर्थिक वर्ष २०७७÷७८ का योजनामा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त टावरको समेत छानबिन गरिरहेको डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी सुभाष ऐडीले बताउनुभयो।
 

प्रतिकृया दिनुहोस

सुरु भयो थारु समुदायमा दसैंको तयारी 

धनगढी, असोज १९। कैलालीका थारु समुदायमा दसैंको तयारी सुरु भएको छ । माटोको कच्ची घर सफा, सुग्घर बनाएर चाडपर्व मनाउने यो समुदायका मानिसले घर लिपपोतको

सुदूरपश्चिमका २७ स्थानमा यात्रु सहायता कक्ष स्थापना

महेन्द्रनगर, असोज १९ । ट्राफिक प्रहरीले नजिकिदै गरेको बडादशै , तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिम प्रदेशका २७ स्थानमा यात्रु सहायता

स्वास्थ्य बीमाका लागि पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौ, असोज १९ । स्वास्थ्य बीमा बोर्डले आउँदो पुस १ गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बोर्डले सूचना निकालेर

↑