सूर्यको उपासना गर्दै थारू समुदायमा अट्वारी पर्व मनाइँदै
धनगढी, भदौ २८ । प्रकृति पूजक थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ । सूर्यदेवताको उपासना गर्दै यस समुदायका मानिसले आइतबारदेखि दुई दिनसम्म अट्वारी पर्व मनाइरहेका छन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । पानीसमेत नखाई निराहार व्रत बसेर अट्वारी पर्व मनाउने गरिएको थारू समुदायका व्यक्तिहरूले बताएका छन् ।
सूर्यले ताप, शक्ति र उज्यालो दिने भएकाले अट्वारी पर्वमा सूर्यदेवताको पूजा गरेमा सुख, शान्ति र दीर्घजीवन प्राप्त हुने थारू बुद्धिजीवी एवं साहित्यकार छविलाल कोपिलाको भनाइ छ । उहाँले थारू समुदाय प्रकृति पूजक भएकाले अग्निपूजाका रूपमा सूर्यदेवताको पूजा गरी अट्वारी पर्व मनाउने गरेको बताउनुभयो ।
अट्वारी पर्व मनाउनुको एउटा कारण महाभारतसँग पनि जोडिएको बताइन्छ । पाँच पाण्डवमध्येका माइला भाइ भीमले अप्ठ्यारोमा परेकी थारू चेलीलाई सहयोग गरेका कारण भीम अर्थात् भेँवाको पूजाआराधना गरेर अट्वारी मनाउने गरिएको किंवदन्ती छ ।
भीमले तावामा राखेको रोटी एकातर्फबाट मात्रै पाकेकाले अट्वारीमा खाने अनदीको रोटी पनि एकातर्फबाट मात्रै पकाउने गरिएको कैलारी गाउँपालिका–७, रतनपुरका दीपक चौधरीले बताउनुभयो ।
यसैगरी, थारू राजा दङ्गीशरणलाई पाँच पाण्डवमध्येका भीमले लडाइँमा सहयोग गरेका कारण भीमको सम्झनामा थारू समुदायले अट्वारी पर्व मनाउन थालेको अर्को किंवदन्ती पनि छ ।
यो पर्वमा मध्यरातमा भिन्सर्या भात दर खाएपछि पर्वको पहिलो दिन आधा दिनसम्म निराहार व्रत बस्ने चलन छ । व्रतालुले दिउँसोतिर नुहाइधुवाइ गर्ने र अग्यारी गुइँठाको आगो बालेर विधिपूर्वक पूजा गर्ने गरेका छन् ।
व्रतालुले पूजाआजा गरेपछि मात्रै जल ग्रहण गर्नुका साथै अनदीको रोटी, फलफूल र दूध खाने चलन रहेको चौधरीले बताउनुभयो । “यी परिकार खानुभन्दा अगाडि व्रतालुले एक भाग निकालेर आफ्ना विवाहित दिदीबहिनीका लागि छुट्टै राख्ने चलन छ,” उहाँले भन्नुभयो ।
पर्वको दोस्रो दिन पनि व्रतालुले बिहान स्नान गरेर पूजाआजा गर्ने र घरमा बनाइएका विभिन्न परिकार खाने चलन छ । यस दिन खरिया, फूलौरी, खुर्मा, माछा, मासुलगायत परिकार खाने गरिन्छ ।
पर्वको अन्तिम दिन बिहान अन्न ग्रहण गर्नुलाई ‘फरहार’ भन्ने गरिन्छ । खानुभन्दा अगाडि सबै परिकारको एक भाग विवाहित दिदीबहिनी वा छोरीका लागि छुट्टै राखिन्छ । यसरी परिकार छुट्याएर राखेपछि मात्रै व्रतालुले खाने चलन छ ।
अनदीको रोटीसहित खानाका सबै परिकार पर्वको दोस्रो दिन विवाहित छोरीचेलीलाई पर्वको उपहारका रूपमा दिने गरिन्छ । यसलाई ‘अग्रासन’ भनिन्छ । विवाहित चेलीबेटी यो पर्वमा अग्रासनको पर्खाइमा बस्ने भएकाले कतिपयले आफ्ना दिदीबहिनी वा चेलीका लागि व्रत बस्ने गरेको बताइन्छ ।
अट्वारी पर्व सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्व रहेको स्थानीय गौरीदेवी चौधरीले बताउनुभयो । उहाँका अनुसार यो पर्वले आपसी सम्बन्धलाई बलियो बनाउने गरेको छ ।
डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
डडेल्धुरा : डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम केसी र निरज मल्लको जोडीले जितेको छ। आइतबार
एघार वर्षदेखि माछा पालन गर्दै कैलारीका हेमन्त
धनगढी, भाद्र २८ । कैलालीको कैलारी गाउँपालिका– ४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन । कृषि क्षेत्रमा केही नयाँ गर्ने
दोषीलाई अनुसन्धान दायरामा ल्याउन माग
धनगढी, भदौ २८ । कैलालीको धनगढी उपमहानगरपालिका –१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस