‘जीर्ण सडकको अवस्था सुधार गर्न मन्त्री लम्सालको चासो ’

डडेल्धुरा, साउन २९। डडेल्धुराका जीर्ण सडकको अवस्था सुधार गर्न पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चासो देखाएका छन्। गन्यापधुरा गाउँपालिका–१ भातकाँडामा स्थानीयका गुनासा सुनेका मन्त्री लम्सालले लामो समयदेखि समस्या रहेको सडकको स्तरोन्नति र गुणस्तरीय निर्माणका लागि पहल गर्ने बताएका हुन्।

भातकाँडा बजारको कञ्चन होटेलको प्राङ्गणमा भएको स्थानीयसँगको भेटमा सडक निर्माण र गुणस्तरलाई मुख्य विषय बनाइएको थियो। भातकाँडा–रेल सडक वर्षौंदेखि अलपत्र रहेको भन्दै स्थानीयले मन्त्रीसमक्ष समस्या राखेका थिए। २०५४ सालमा उद्घाटन गरिएको उक्त सडक गन्यापधुरा गाउँपालिकाका चारवटा गाउँलाई जोड्ने मुख्य सडक भए पनि ठेक्का लागेको मध्ये भातकाँडा बजारदेखि अगाडिको करिब चार किलोमिटर खण्ड अझै स्तरोन्नति हुन सकेको छैन।

पूर्वाधारको अभावकै कारण गाउँबाट बसाइँसराइ बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव टंकप्रसाद अवस्थीले बताए। सडक नहुँदा गाउँको उत्पादन बजारसम्म पु¥याउन तथा दैनिक आवतजावतमा समेत समस्या रहेको उनले बताए।

सडक निर्माणका लागि २०७८ सालमा  एएनके–जोशी–मालिका जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। २०८० सालमा सम्पन्न गर्नुपर्ने काम म्याद थप गरेर २०८२ सालसम्म पु¥याइए पनि पूरा हुन सकेन। स्थानीयले निर्माण कम्पनीले काम अधुरै छाडेको र गरिएको कामसमेत गुणस्तरीय नभएको गुनासो गरेका छन्।

सडक डिभिजन कुलपातेका प्रमुख रमेश भट्टराईले हाल चार किलोमिटर सडकखण्डको मात्रै ठेक्का रहेको बताए। उनका अनुसार समग्र सडक करिब ४० किलोमिटर लामो छ भने २५ किलोमिटरको आईए भइसकेको छ। डीपीआर तयार गर्दा आयोजनाको लागत एक अर्ब रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ।

स्थानीयले सडक मर्मत तथा निर्माणमा सरकारी निकायको सक्रियता देखिन नसकेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले मन्त्री वा पूर्वप्रधानमन्त्रीको भ्रमणका बेला सडकका खाल्डाखुल्डी पुर्ने तर नियमित रूपमा सडकको मर्मत नहुने गरेको गुनासो गरे।

गुनासा सुनेपछि मन्त्री लम्सालले सडकसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताए। स्थानीयले उठाएका विषय सम्बोधन गर्न आफूले प्रयास गर्ने उनको भनाइ थियो। यसै क्रममा मन्त्री लम्सालले भीमदत्त राजमार्गको हगुल्टे क्षेत्रमा गरिएको कालोपत्रीको अवस्थाबारे पनि चासो देखाएका छन्। कालोपत्री गरेको दुई महिनामै पिच उप्किएको भन्दै स्थानीयले गुनासो गरेपछि उनले अब उक्त क्षेत्रमा ढलान गर्ने बताए। सडकको टिकाउपनलाई  ध्यानमा राखेर ढलानतर्फ जाने मन्त्रीको भनाइ छ।
 

प्रतिकृया दिनुहोस

रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

डडेल्धुरा, भाद्र ३ । डडेल्धुराको परशुराम नगरपालिका –१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले बुधबार

बाजुरामा एलपी ग्यासको अभाव, विद्यार्थी बढी मारमा

बाजुरा, भाद्र ३ । देशभर ग्यासको अभावका बेला बाजुरामा पनि खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । ग्यास अभावका कारण सदरमुकाम मार्तडीमा उपभोक्ता