कर्जा प्रवाहमा सहुलियत पाईने भएपछि उद्यमी महिलाहरूमा उत्साह
डडेल्धुरा, असार ७। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत दिने घोषणा गरेपछि व्यवसायमा संलग्न महिलाहरू उत्साहित बनेका छन्। लगानी अभाव, धितोको समस्या र जटिल बैंकिङ प्रक्रियाका कारण व्यवसाय विस्तारमा कठिनाइ भोग्दै आएका महिला उद्यमीहरूले सरकारले घोषणा गरेको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए अब लगानी जुटाउन सहज हुने र व्यवसाय विस्तारमा टेवा पुग्ने बताएका छन्।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्ने घोषणा गरेपछि व्यवसाय क्षेत्रमा संलग्न महिलाहरूमा नयाँ उत्साह थपिएको हो। वित्तीय पहुँचको अभाव, पर्याप्त धितो नहुनु तथा जटिल बैंकिङ प्रक्रियाका कारण व्यवसाय विस्तारमा कठिनाइ भोग्दै आएका ग्रामिण तथा पहाडी क्षेत्रका महिला उद्यमीहरूले सरकारले घोषणा गरेको नयाँ व्यवस्थाले लगानी जुटाउन सहज हुने अपेक्षा गरेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत महिला उद्यमशीलता विकास, उत्पादन वृद्धि तथा आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गरिने घोषणा गरेका थिए। बजेटमा महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत उपलब्ध गराइने उल्लेख गरिएको छ। साथै महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गरिने घोषणा पनि गरिएको छ।
सरकारको यो घोषणाले विशेषगरी साना तथा घरेलु उद्योग सञ्चालन गरिरहेका महिलाहरूमा उत्साह थपेको हो। व्यवसाय विस्तारका लागि आवश्यक पुँजी अभाव झेलिरहेका महिला उद्यमीहरू सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए आफ्नो व्यवसायलाई थप विस्तार गर्न सकिने विश्वास व्यक्त गर्छन्।
डडेल्धुराकी महिला उद्यमी सञ्जु केसीले सरकारले महिलाका लागि उद्यमशीलता कर्जा कार्यक्रमलाई थप सहज बनाउने घोषणा सकारात्मक रहेको बताइन्। उनका अनुसार यसअघि पनि महिला उद्यमीका लागि विभिन्न प्रकारका ऋण कार्यक्रम सञ्चालन भएतापनि बैंकबाट ऋण लिँदा प्रक्रिया जटिल र झन्झटिलो हुने गरेको थियो। महिलाहरूलाई सहज तरिकाले ऋण उपलब्ध गराउन सके उद्यमशीलता प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ। महिलाहरूले लिएको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्ने र त्यसको सदुपयोग गर्ने प्रवृत्ति बढी हुने भएकाले सरकारले उनीहरूलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताइन्।
डडेल्धुराकै अर्की महिला उद्यमी हिरा पन्तले सीमित पुँजीका कारण आफूले सानो तरकारी व्यवसाय सञ्चालन गरिरहेको बताइन्। व्यवसाय विस्तार गर्ने चाहना भए पनि लगानीको अभावले सम्भव नभएको भन्दै उनले सहुलियतपूर्ण ऋण प्राप्त भए व्यवसायको आकार बढाउने योजना रहेको सुनाइन्। अहिले उपलब्ध स्रोतसाधन र सीमित लगानीकै भरमा व्यवसाय सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले गरिब तथा निम्न आय भएका व्यवसायीलाई लक्षित गरेर सरकारले थप सहयोगका कार्यक्रम ल्याउनु सकारात्मक रहेको धारणा राखिन्।
महिला उद्यमी संघ डडेल्धुराकी अध्यक्ष सीता खड्काले बजेटमा गरिएको घोषणा स्वागतयोग्य रहेको बताइन्। महिलाहरूले व्यवसाय सञ्चालनका क्रममा सबैभन्दा बढी वित्तीय पहुँचको समस्या भोग्दै आएको उल्लेख गर्दै उनले बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुने कर्जाको ब्याजदर अझै धेरै महिलाका लागि चुनौतीपूर्ण रहेको बताइन्। कम ब्याजदरमा कर्जा उपलब्ध गराउन सके सानो लगानीबाट पनि महिलाहरूले सफल उद्यम सञ्चालन गर्न सक्ने उनको विश्वास छ।
खड्काका अनुसार ग्रामीण क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका अधिकांश महिलाले पर्याप्त धितो नहुँदा बैंकबाट ऋण प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्। बैंक तथा वित्तीय संस्थाले माग गर्ने कागजी प्रक्रिया र धितो व्यवस्थाका कारण धेरै महिला व्यवसायी औपचारिक वित्तीय प्रणालीबाट बाहिर बस्न बाध्य छन्। सरकारले घोषणा गरेको सहुलियतपूर्ण कर्जा कार्यक्रम वास्तविक उद्यमी महिलासम्म पुग्न सके मात्र यसको उद्देश्य पूरा हुने उनको भनाइ छ।
महिला उद्यमीहरूका अनुसार ग्रामीण क्षेत्रमा साना उद्योग, कृषि व्यवसाय, हस्तकला, पशुपालन तथा खुद्रा व्यापारमा संलग्न महिलाहरूले वित्तीय पहुँचको अभावका कारण आफ्नो व्यवसाय विस्तार गर्न सकेका छैनन्। सहुलियतपूर्ण ब्याजदर, सरल प्रक्रिया र सहज पहुँचसहितको कर्जा व्यवस्थाले महिला नेतृत्वका उद्योग तथा व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने उनीहरूको विश्वास छ।
उद्यमशीलता क्षेत्रमा सक्रिय महिलाहरूले बजेटको घोषणा मात्र पर्याप्त नभई यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। विगतमा पनि विभिन्न कार्यक्रम घोषणा गरिएतापनि लक्षित वर्गसम्म पूर्ण रूपमा नपुगेको अनुभव रहेको उनीहरूको भनाइ छ। सहुलियतपूर्ण कर्जाको पहुँच ग्रामीण क्षेत्रका महिला उद्यमीसम्म विस्तार गर्न सके उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
डडेल्धुरामा पछिल्ला वर्षहरूमा महिलाको नाममा उद्योग दर्ता गर्ने क्रम उल्लेख्य रूपमा बढेको तथ्यांकले पनि देखाएको छ। घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका अनुसार जिल्लामा हालसम्म ४ हजार ९ सय ३२ वटा उद्योग दर्ता भएका छन्। चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा मात्रै १ सय ४९ वटा नयाँ उद्योग दर्ता भएका छन्, जसमध्ये अधिकांश उद्योग महिलाको नाममा रहेको कार्यालयले जनाएको छ।
कार्यालयका उद्यम विकास सहजकर्ता किशोर कैनीका अनुसार सरकारले महिला उद्यमीलाई विभिन्न प्रकारका छुट तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेपछि महिलाको नाममा उद्योग दर्ता गर्ने आकर्षण बढेको हो। उनले ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै उद्यम विकासका विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिए।
महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयले सीपमूलक तालिम, घरेलु उत्पादन निर्माण तथा व्यवसाय व्यवस्थापनसम्बन्धी प्रशिक्षणसमेत प्रदान गर्दै आएको उनको भनाइ छ। सरकारले बजेटमार्फत घोषणा गरेको नयाँ सहुलियत कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भए महिलाको उद्यमशीलता अझ विस्तार हुने र ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाई छ।
सूत्र प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मर्कामा
कञ्चनपुर, साउन १३ । स्थानीय तहमा राजस्व संकलनका लागि प्रयोग हुँदै आएको सूत्र प्रणाली पछिल्लो समय पटक–पटक अवरुद्ध हुँदा कञ्चनपुरसहित देशभरका
विकासका प्राथमिकतासहित डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक
डडेल्धुरा, असार ११। डडेल्धुराका सातवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि बजेट सार्वजनिक गरेका छन्। दुई नगरपालिका र पाँच गाउँपालिकाले
सुदूरपश्चिम सरकारको विकास खर्च १० महिनामा २१ प्रतिशत
धनगढी, जेठ १२। सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको वैशाखसम्मको विकास खर्च २१ प्रतिशत मात्रै पुगेको छ । पुँजीगततर्फ १९ अर्ब ८३ करोड ८५ लाख ५६
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस