हरिना कामीको संसदीय यात्रा
डडेल्धुरा, चैत ६। प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भइसकेको छ। प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिक प्रणालीमार्फत पनि विभिन्न समुदायका प्रतिनिधिहरू संसदमा पुगेका छन्। संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्वको अभ्यासअनुसार दलित, आदिवासी जनजाति, महिला, पिछडिएका वर्गहरूलाई समेटेर दलहरूले आफ्ना प्रतिनिधि छनोट गरेका छन्।
यही प्रक्रियाअनुसार नेपाली कांग्रेसले दलित क्लस्टरबाट समानुपातिक सूचीमा पहिलो नम्बरमा सिफारिस गरेकी डडेल्धुराकी हरिना कामी अहिले प्रतिनिधिसभा सदस्य बनेकी छन्।
सामान्य परिवार, साधारण परिवेश र संघर्षपूर्ण जीवनयात्राबाट अघि बढ्दै आएकी ३७ वर्षीया कामीको संसदसम्मको यात्रा सामाजिक रूपान्तरणको एक उदाहरण हो।
डडेल्धुराको भित्री मधेश क्षेत्र परशुराम नगरपालिका–१२ तुलाभाडीमा कर्मघर बनाएकी कामीको जन्म भने गन्यापधुरा गाउँपालिकामा भएको हो।
बाल्यकाल सामान्य ग्रामीण परिवेशमै बित्यो। सीमित स्रोतसाधन, सामाजिक बन्धन र अवसरको अभावबीच हुर्किएकी उनी त्यतिबेलाको समाजको प्रतिनिधि पात्र थिइन्, जहाँ छोरीहरूलाई धेरै पढाउनु आवश्यक ठानिँदैनथ्यो र सानै उमेरमा विवाह गरिदिने चलन व्यापक थियो।
यस्तै सामाजिक संरचनाबीच उनले कक्षा १० सम्मको अध्ययन पूरा गरिन्। औपचारिक शिक्षाको यात्रा त्यहीं रोकियो, तर सिक्ने र केही गर्ने चाहना भने रोकिएन। विवाहपछि उनी तुलाभाडी आइन् र त्यहीँबाट उनको जीवनले नयाँ मोड लियो। विवाहपछिको जीवन सामान्य ग्रामीण महिलाझैं घाँसदाउरा, मेलापात र खेतीपातीमै बित्यो। २०६४ देखि २०६८ सालसम्म उनी गाउँमै रहेर घरधन्दा र कृषि कर्ममा व्यस्त रहिन्। तर यही बीचमा उनले समाजभित्रका असमानता, विशेषगरी दलित, महिला र किसानहरूको अवस्था नजिकबाट देखिन्। ‘केही गर्नुपर्छ’ भन्ने सोच त्यतिबेलै पलाएको उनी बताउँछिन्।
उनको सामाजिक सक्रियता महिला समूहबाट सुरु भयो। गाउँका महिला, आमा समूह र किसानहरूलाई एकत्रित गर्दै उनले सामूहिक कामको अभ्यास सुरु गरिन्। विशेषगरी कृषि समूह गठन गरेर महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानमा उनी लागिन्। तुलाभाडी क्षेत्रमा उनले गाई, भैंसी र बाख्रापालनसँगै डेरी व्यवसायको अवधारणा अघि बढाइन्। समूहमार्फत दूध उत्पादन संकलन गरी बजारसम्म पु¥याउने काम सुरु भयो। कुनै बेला आत्मनिर्भर हुन नसकेका स्थानीय महिलाहरू आफ्नै कमाइबाट परिवार धान्न सक्ने अवस्थामा पुगे। स्थानीय उत्पादन धनगढीसम्म पुग्न थालेपछि किसानहरूमा आत्मविश्वास बढ्यो। आर्थिक रूपमा सबल बन्न थालेपछि सामाजिक हैसियत पनि क्रमशः परिवर्तन हुन थाल्यो।
समाज परिवर्तनका लागि सामाजिक कर्मले मात्र पुग्दैन, नीति निर्माण तहमा पुग्नुपर्छ भन्ने अनुभवले कामीलाई अझ ठूलो सोचतर्फ डो¥यायो। तर राजनीतिमा लाग्ने सोच सुरुमा थिएन। समुदायमा काम गर्दै जाँदा राजनीति अपरिहार्य जस्तो लाग्न थालेको उनी बताउँछिन्।
उनको राजनीतिक यात्रा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट सुरु भयो। विद्यार्थी राजनीतिमा प्रवेश गरेपछि उनले संगठनभित्र आफ्नो सक्रियता देखाउन थालिन्। त्यसपछि उनी नेपाल महिला संघमा आबद्ध भइन् र २०७७ सालतिर सदस्यको जिम्मेवारी सम्हालिन्।
वडा सदस्यका रूपमा उनले आफ्नो प्राथमिकतामा दलित, महिला र किसानको उत्थानलाई राखिन। स्थानीय सरकारबाट उपलब्ध स्रोत र साधनलाई यिनै वर्गतर्फ केन्द्रित गर्न उनले पहल गरिन्। उनको कार्यकालमा कृषि, पशुपालन र महिला सशक्तीकरणका कार्यक्रमहरू अगाडि बढे।
उनको जीवनयात्रामा एउटा महत्वपूर्ण पक्ष परिवारको भूमिका पनि हो। सुरुमा राजनीति गर्न घरपरिवारबाट अपेक्षित सहयोग नपाएको उनी बताउँछिन्। त्यतिबेलाको समाजमा महिलाले घरबाहिर निस्केर राजनीति गर्नु सहज थिएन। परिवार र समाज दुवैको दृष्टिकोण फरक थियो। तर समयसँगै परिस्थिति बदलियो।
सामाजिक काम र जनसेवामा उनको सक्रियता देखेपछि परिवार र आफन्तको साथ बढ्दै गयो। अहिले भने उनीहरू नै उनको सबैभन्दा ठूलो शक्ति बनेका छन्।
समाज पनि परिवर्तन हुँदै गएको उनी अनुभव गर्छिन्।
‘पहिले महिलाले धेरै पढ्नु हुँदैन, घरमै बस्नुपर्छ भन्ने सोच थियो,’ उनी भन्छिन्, ‘तर अहिले त्यो सोच क्रमशः बदलिँदै गएको छ।’ उनको आफ्नै जीवन पनि त्यस परिवर्तनको उदाहरण हो।
राजनीतिक यात्राको पहिलो उपलब्धि भने २०७४ सालको स्थानीय तह निर्वाचन बन्यो। परशुराम नगरपालिका–१२ बाट वडा सदस्यमा निर्वाचित भइन्। त्यससँगै उनी कार्यपालिका सदस्यसमेत बनिन्।
तर राजनीतिक यात्रा सधैं सहज हुँदैन। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी पुनः वडा सदस्यका लागि उम्मेदवार बनिन्। त्यसपटक भने उनी चार मतले पराजित भइन्। त्यो हार उनका लागि निराशाको कारण बन्न सक्थ्यो, तर उनले त्यसलाई अनुभवका रूपमा लिइन्। उनले आफ्नो सामाजिक र राजनीतिक सक्रियता निरन्तर राखिन्।
यसैबीच पार्टीभित्र उनको सक्रियता र योगदानलाई मूल्यांकन गरियो। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेकी उनी, जेन्जी आन्दोलनपछि पुनर्गठित राजनीतिक सन्दर्भमा भएको प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२का लागि डडेल्धुराबाट समानुपातिकतर्फ दलित क्लस्टरमा पहिलो नम्बरमा सिफारिस भइन्।
र अन्ततः उनी प्रतिनिधिसभा सदस्य बन्न सफल भइन्।
सांसद बनेपछि उनले सबैभन्दा पहिले पार्टी नेतृत्व र कार्यकर्ताप्रति आभार व्यक्त गरिन्। साथै, मतदाताप्रति पनि धन्यवाद दिइन्। उनले यो सफतालाई व्यक्तिगत उपलब्धि मात्रै नभई जनताको विश्वासको परिणाम भएको बताएकी छिन।
‘अब मेरो जिम्मेवारी अझ ठूलो भएको छ,’ उनी भन्छिन्,‘म संसदमा दलित, आदिवासी जनजाति, महिला, युवा र पछाडि परेका सबै वर्गको आवाज उठाउनेछु।’
प्रतिपक्षमा रहे पनि जनताको आवाज उठाउने आफ्नो दायित्वबाट पछि नहट्ने उनको अठोट छ। आवाज विहीनको आवाजका रुपमा आफुलाई प्रस्तुत गर्ने उनले बताईन्।
सामान्य ग्रामीण परिवेशबाट उठेर संसदसम्म पुगेकी कामीको यात्रा सहज थिएन। सीमित शिक्षा, आर्थिक अभाव, सामाजिक विभेद यी सबै चुनौतीहरू पार गर्दै उनी यहाँसम्म आइपुगेकी हुन्। तर उनले जीवनमा कहिल्यै हार मानिनन्। अब उनले दलित, महिला र किसानहरूको अधिकार सुनिश्चित गर्न, आर्थिक रूपमा सशक्त बनाउन र सामाजिक न्याय स्थापना गर्न उनले संसदभित्र आवाज उठाउने बताएकी छन्।
राप्रपा डडेल्धुराको अध्यक्षमा भण्डारी, संगठन विस्तारमा जोड
डडेल्धुरा, भदौ २७। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराको नेतृत्वमा राजेन्द्र भण्डारी पुनः दोहोरिएका छन्। शनिबार सम्पन्न पार्टीको ७औँ
सुदूरपश्चिममा मुख्यमन्त्रीसहित एमालेका तीन मन्त्रीले आज शपथ लिँदै
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा आज मुख्यमन्त्रीसहित नेकपा एमालेका तीन मन्त्रीले शपथ लिने भएका छन्। एमालेले संसदीय दलका उपनेता सन्तोष शर्मा
प्रधानमन्त्री बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित
काठमाडौं, चैत १३। प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समारोहमा सहभागी
-

आमाको सम्झनामा विद्यालयलाई जग्गादान
-

डडेल्धुरामा हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि
-

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग
-

डडेल्धुरामा भदौ २७ र २८ गते मैत्रीपूर्ण खुला ब्याडमिन्टन प्रतियोगिता हुँदै
-

डडेल्धुरामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, आठ टिम क्वाटरफाइनलमा





प्रतिकृया दिनुहोस