शिक्षकदेखि सांसदसम्म: ३४ वर्षे कांग्रेस किल्ला तोड्दै संसद पुगेका जोशी

डडेल्धुरा, फागुन २३ । डडेल्धुराको राजनीतिक इतिहासमा यसपटक ठूलो परिवर्तन देखिएको छ। ३४ वर्षदेखि कायम रहेको नेपाली कांग्रेसको वर्चस्व तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. ताराप्रसाद जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन्।

(रास्वपा) का उम्मेदवार डा. जोशी ७०१० मत अन्तरले विजयी भएका छन ।  उनले १९ हजार १ सय ३१ मत प्राप्त गरेका छन भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नैन सिंह महरले १२ हजार १ सय २१ मत प्राप्त गरे । नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८ सय ३४ र नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले ३ हजार २६ मत प्राप्त गरे ।

२०२७ साल चैत ३० गते जन्मिएका जोशी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुन्। विद्यार्थी जीवनदेखि नै राजनीति र सामाजिक गतिविधिमा सक्रिय रहेका उनले लामो समय विभिन्न आन्दोलन तथा संगठनमार्फत आफ्नो भूमिका निभाउँदै आएका छन्।

उनको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य बनेर सुरु भएको थियो। त्यसपछि २०४८ सालमा शिक्षण पेसामा प्रवेश गर्दै शिक्षक संगठनमार्फत सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय भए। २०५१ सालमा नेकपा एमाले डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेपछि उनी पार्टी राजनीतिमा अझ सक्रिय बने।

शिक्षकका रूपमा जिल्लाका विभिन्न विद्यालयहरूमा अध्यापन गराएका जोशीले संगठनमा पनि क्रमशः जिम्मेवारी पाउँदै गए। २०५३ सालमा नेकपा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य बनेका उनी २०५४ सालमा जिल्ला कमिटी सचिव बने।

राजनीतिसँगै पत्रकारितामा पनि उनको सक्रियता देखियो। २०५५ सालतिर कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकको जिम्मेवारी सम्हाल्दै उनले लेखनमार्फत पनि आफ्ना विचार सार्वजनिक गरे। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लेख लेखेका छन्। ‘कान्तिपुर’, ‘नेपाल साप्ताहिक’ तथा भारतको ‘हिन्दुस्तान टाइम्स’ मा स्तम्भ लेख्दै उनले समसामयिक राजनीतिक तथा नीतिगत विषयमा धारणा व्यक्त गरेका थिए।

संगठनमा लामो समय काम गरेपछि २०६९ सालमा उनी नेकपा एमाले डडेल्धुराको जिल्ला अध्यक्ष बने। देशको लोकतान्त्रिक आन्दोलनमा पनि उनको सक्रिय भूमिका रहेको बताइन्छ। विशेषगरी २०६२–०६३ को जनआन्दोलनमा उनको महत्वपूर्ण सहभागिता रहेको थियो।

निर्वाचन राजनीतिमा भने उनले उतार–चढाव पनि भोगे। २०७० सालको संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए भने २०७४ सालको प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग हार व्यहोरेका थिए।

तर २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनले पुनः बलियो राजनीतिक उपस्थिति देखाए। २०७८ सालतिर एमाले परित्याग गरेपछि उनी स्वतन्त्र राजनीतिक यात्रामा सक्रिय बनेका थिए।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।

शैक्षिक रूपमा पनि जोशी उच्च अध्ययन गरेका नेता हुन्। नेपालमै राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा अनुभव बटुलेका जोशी अहिले डडेल्धुराबाट संसद् पुगेका छन्। ३४ वर्षे कांग्रेस वर्चस्व तोड्दै उनले डडेल्धुराको राजनीतिमा नयाँ अध्याय सुरु गरेका छन्।
 

प्रतिकृया दिनुहोस

‘स्विजरल्यान्डको बाउ’ बडिमालिका ! के–के छन् मुख्य आकर्षण ?

बाजुरा, बैसाख ५। नेपाली सेनाले अनेकौं चुनौती छिचोल्दै गत असारमा पुरानो मन्दिर जिर्णोद्वार गर्दै पुरातात्त्विक मापदण्डमा नयाँ मन्दिर निर्माण गरेपछि

महिनावारीमैत्री संरचनाको अभावः विभेद अन्त्यका छैन प्रयास

ममता भट्ट,डडेल्धुरा ः डडेल्धुरा सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी

१२ वर्ष देखी रेडियो सेट मर्मतमा खडक बहादुर! 

तर्कराज भट्ट, फागुन १ । डडेल्धुराका खडक बहादुर ठकुराठी १२ वर्षदेखि रेडियो मर्मत गर्दै आइरहेका छन्। डिजिटल माध्यमको बाढीमा पनि रेडियोको विश्वसनीयता