चक्रपथ नामको मृत्युमार्ग !

पहिले सडक साँघुरो हुँदा धुलो र जामले हैरान, अहिले फराकिलो भएपछि मरिएला कि भन्ने डर । साना गाडी र मोटरसाइकलमा यात्रा गर्नेलाई मात्र होइन, पैदलयात्रुलाई झन् बढी जोखिम छ ।

काठमाडौंको बल्खुदेखि कोटेश्वरसम्म यात्रा गर्ने र यो सडक भएर ओहोरदोहोर गर्ने सबैजना दिनहुँ यस्तो जोखिम मोल्न बाध्य छन् । सडक फराकिलो भएसँगै यो सडकखण्डमा दुर्घटना बढेको छ । प्रहरीका अनुसार बितेको ६ महिनामा यो सडकखण्डमा ठूला गाडीको ठक्करबाट ८ जनाको ज्यान गएको छ ।

१ सय ९ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दुईजना पैदलयात्रु, चारजना मोटरसाइकल चालक र दुईजना मोटरसाइकलको पछाडि बस्नेको ज्यान गएको हो । सडक फराकिलो बनाउने क्रममा ट्राफिक सुरक्षामा गम्भीर लापर्बाही गरिएका कारण यो सडकखण्डमा दिनहुँजसो दुर्घटना हुने गरेको हो । दुर्घटना रोक्न सरकारी निकाय जिम्मेवार भएका छैनन् । नागरिकको ज्यानमाथि खेलबाड भैरहेको छ ।

पहिले ४ लेनको हुँदा जाम धेरै हुन्थ्यो । गाडी विस्तारै गुड्थे । तर अहिले बल्खुदेखि कोटेश्वरसम्मको ८ लेनको सडकमा त्यति धेरै जाम हुँदैन । त्यसैले गाडी ‘फूल स्पीड’मा हुइँकिन्छन् । दुईतर्फी गाडी चल्ने सडकमा लेन छुट्याउने डिभाइडर त परको कुरा, सेतो धर्सो पनि कोरिएको छैन ।

लेन छुट्याउने संकेत नभएपछि चालकले मनपरी ढंगले गाडी चलाउँछन् । सडक खाली देखेपछि लेन मिचेर ‘फूल स्पिड’मा हुइँक्याउने प्रवृत्ति छ । तीव्र गतिमा गुड्ने ठूला गाडीले साना गाडी र मोटरसाइकललाई ठक्कर दिने क्रम बढेको छ । अझ पैदलयात्रु बढी जोखिममा छन् । ८ लेनको सडकमा बाटो काट्ने ठाउँ छुट्याइएको छैन । पहिले सडक साँघुरो हुँदा जाम र चापका कारण गाडी विस्तारै गुड्थे । गाडी बिस्तारै गुडेको बेला बाटो काट्न सहज हुन्थ्यो । 

तर अहिले फराकिलो सडकमा दुईतर्फी नै गाडी तीव्र गतिमा गुड्छन् । यस्तो अवस्थामा ८ लेनको सडकको वल्लो किनाराबाट पल्लो किनारासम्म कसरी पुग्ने भन्ने चिन्ता पैदल यात्रुलाई हुन्छ । एकातिरबाट गाडी नआएको मौकामा छिटोछिटो पाइला सार्दै बीच सडकमा पुग्दा अर्कोतिरबाट तीव्र गतिमा गाडी आइरहेको हुन्छ । सडकको बीचमा डिभाइडर या सेतो धर्सो काेरेर लेनलाई व्यवस्थित बनाइएकाे भए त्यहाँ उभिँदा केही सुरक्षित हुन्थ्यो । तर बीच सडकमा कुनै पनि ट्राफिक संकेत नहुँदा बाटो पार गर्दै गरेका पैदलयात्रुलाई कहाँ उभिने भन्ने डर हुन्छ ।

एकातिरबाट गाडी नआएको मौकामा सडक पार गर्न थालेर बीचमा पुगेपछि अर्कोतर्फबाट गाडी हुइँकिँदै आएको देखेपछि बीचमा उभिनुपर्ने हुन्छ । तर उभिनुपर्ने ठाउँको बारेमा थाहा नहुँदा र गाडी पनि लेन मिचेर आउने हुँदा यसरी बाटो काट्ने पैदलयात्रुलाई गाडीले ठक्कर दिने गरेको छ । महालक्ष्मीस्थान, नख्खु सानेपा र एकान्तकुनामा यस्तो जोखिम बढी छ ।

यस्तो जोखिमको बारेमा सम्बन्धित निकाय पनि जानकार छन् । ट्राफिक लाइट, जेब्राक्रसिङ, डिभाइडर लगायतका ट्राफिक संकेत नभएको र चालकले तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना बढेको सबैलाई थाहा छ । तर दुर्घटना रोक्नेतर्फ कसैले चासो दिएका छैनन् । अस्थायी नै सही गाडीकाे गति राेक्नलाई ठाउँठाउँमा 'स्पीड ब्रेकर' राख्न त सकिन्छ नि । 

चक्रपथ विस्तार आयोजना सडक बनाउने काम नसकिएकाले डिभाइडर, जेब्राक्रसिङ, लेन संकेत राख्न नमिलेको बताउँछ । अहिले कोटेश्वरदेखि बल्खुसम्म पहिलो चरणको कालोपत्रे गर्ने काम मात्र सकिएको हो । कलंकीसम्म कालोपत्रे सकेपछि फेरि कलंकीदेखि कोटेश्वरसम्म अर्को चरणको कालोपत्रे हुन्छ । आयोजनाले त्यसपछि मात्र ट्राफिक संकेत राख्ने तयारी गरेको छ ।

तर मनसुन लागेपछि कालोपत्रे नहुने भएकाले अर्को चरणको कालोपत्रेको काम सक्न कम्तीमा ६ महिना कुर्नुपर्छ । अहिले बल्खुदेखि कोटेश्वरसम्मको सडक मात्र फराकिलो बनाइएको छ । अबको केही हप्तामै बल्खुदेखि कलंकीसम्मको सडक पनि फराकिलो हुन्छ । त्यसपछि कोटेश्वरबाट बल्खुसम्म पुगेको जोखिम कलंकीसम्मै लम्बिन्छ । दोस्रो चरणको कालोपत्रे सकेर ट्राफिक संकेत राख्ने बेलासम्म दुर्घटनाबाट कति जनाको ज्यान जाने हो भन्ने चिन्ता कसैले गरेको देखिदैन ।

दुर्घटना कम गर्न अस्थायी रुपमा भए पनि जेब्राक्रसिङ र ट्राफिक संकेत राख्न सकिन्छ । गाडीको ‘स्पीड’ कम गर्ने ट्राफिकले चालकलाई बाध्य पार्ने उपाय अपनाउन सकिन्छ । तर सरकारी निकाय यसमा गम्भीर छैनन् । अहिले जेसुकै होओस्, मान्छे मरे पनि मरुन्, कालोपत्रे नसकिँदासम्म केही गर्न सकिँदैन भनेजस्तो गरी मुकदर्शक छन् ।

पहिलो कुरा त चक्रपथ राजमार्ग होइन । चक्रपथ आसपासमा घना वस्ती छन् । यहाँ बस्ने नागरिकलाई दिनहुँ सडक वारपार गरेर दैनिकी चलाउनुपर्छ । त्यसैले सडकमा तीव्र गतिमा गाडी चलाउन मिल्दैन । गाडीको गति कम गर्ने र बाटो काट्ने संकेत धेरै हुनुपर्छ । तर चक्रपथ विस्तारको क्रममा यस्ता मापदण्डमा ख्याल गरिएको पाइँदैन ।

सडकमा हुने जामभन्दा मान्छेको ज्यान ठूलो हो । सडक फराकिलो भएसँगै जाम त घटेको छ । पहिले बल्खुबाट कोटेश्वर पुग्न कम्तिमा एकघण्टा लाग्थ्यो । अहिले १५ मिनेटमै पुग्न सकिन्छ । तर ८ लेनको फराकिलो सडकमा कुनै पनि प्रकारका नियमन र नियन्त्रण नहुँदा दुर्घटना बढेको छ । अकालमा ज्यान जाने क्रम बढेको छ ।

कि त सडक कालोपत्रे भै नसक्दासम्म ८ लेनकै बाटो खुला गर्न भएन । दुईतर्फका साइड लेन मात्र खुला गरेर बीचको चार लेनमा गाडी चल्न रोक लगाउनु पर्छ । कि त कालोपत्रे नसक्दासम्म अस्थायी रुपमा भए पनि ट्राफिक संकेत राख्ने र गाडीको ‘स्पीड’ कम गर्ने उपाय अपनाउनुपर्छ । सरकारले यति काम पनि गर्दैन भने नागरिकले सरकारबाट आफू सुरक्षित छ भनेर कसरी आश्वस्त हुने ?

कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

डा. शेरबहादुर पुन - २०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको

पर्वतले कसेको गाँठो

रमेश भट्टराई ‘सहृदयी’ - तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण ।।

प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली