गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म हुर्काएको आठराईले के पायो ?

राजनीतिक र शैक्षिक रुपमा बेग्लै परिचय बनाएको ठाउँ हो आठराई । पूर्वी पहाडी जिल्ला तेह्रथुममा पर्ने यो ठाउँ पाँचथर र ताप्लेजुङ्गसँग जोडिएको छ ।

आठराईमा १९८७ सालतिरै सुरु भएको शैक्षिक जगमा २००३ सालतिर खुलेका स्कुल र २०१७ सालमा वरेन्द्र इन्टर कलेज नामले खुलेको हालको ‘तेह्रथुम बहुमुखी क्याम्पस’ आठराई मा राजनीतिक र शैक्षिक चेत भर्ने मुख्य कारण हुन् । 

ती शैक्षिक संस्था स्थापना गर्न आठराईका राजनीतिज्ञले कम मात्र दुःख गर्नु परेन । उनीहरुको त्यही कुटनीतिक क्षमताले नै आठराईलाई राजनीतिक रुपमा पनि अगाडि छ भन्ने परिचय दिलायो । तत्कालीन १० गाउँ पञ्चायत र पछि गाउँ विकास समितिको सुन्दर भूगोल थियो ‘आठराई’ । 

यहाँको विकासका लागि तत्कालीन अगुवा पञ्चायतहरुले पूर्वकै नमुना काम गरे त्यतिबेला । तत्कालीन पञ्चायती सरकार र राणा परिवारले पनि डुले, घुमेको र लगानी गरेको इतिहास छ यहाँ । 

यसको प्रमाणका रुपमा स्व.मदन शमशेरको नाममा मदन धारा स्थापना, मदन मेला सञ्चालन तथा श्रीमती जगदम्बाको नाममा जगदम्बा दातव्य औषधालय, जगदम्बा अतिथि गृह भवन आदिका भग्नावशेष अहिले पनि छँदैछन् । पछि यहाँको लोक संस्कृतियुक्त मदन मेला, अतिथि गृह र औषधालयले पनि आठराईको परिचय थपे । 

मदन मेला भर्न पूर्वका दर्जन बढी जिल्लाका मानिसहरु आउने गर्थे । औषधालय तेह्रथुम, ताप्लेजुङ र पाँचथरका बासिन्दाको एउटै उपचारको गन्तव्य थियो । अतिथि गृहले पाहुनालाई सत्कार गरिरह्यो । तर द्वन्द्वकालमा औषधालय र अतिथि गृह क्षतविक्षत भए । समय परिवर्तनसँगै आठराईको सुन्दर भूगोल सिंगो रहेन । र ०३२ सालतिरै तेह्रथुमतर्फ ६ गाविस र ताप्लेजुङतर्फ ४ गाविसका रुपमा टुक्राइयो ‘आठराई’ थुमलाई । जो तेह्रवटा थुममध्ये एउटा थियो ।

अहिले तीनै ६ गाविससहित खाम्लालुङ गाविसलाई मिलाएर आठराई गाउँपालिका बनाइएको छ । ऐतिहासिक रुपमा पूर्वकै पुरानो शैक्षिक र राजनीतिकसँगै विकासको ढोका खुलेको यो क्षेत्रले समयअनुसार परिचय बदले पनि रुप फेर्न सकेन । त्यतिबेला पूर्वकै नमुना ठाउँको रुपमा कहलिएको ‘आठराई’ नाउँ सुन्दा अहिले पनि धेरैलाई शैक्षिक उद्गम स्थलको सम्झना हुन्छ । तर त्यतिबेलै त्यति विकसित आठराई अहिले सुविधासम्पन्न भइसक्नुपर्ने हो । तर वास्तविकता त्यस्तो छैन ।  

अहिले मदन धाराको रुप बदलिएको छ । धाराको पानीले सबै स्थानीयको प्यास मेट्दैन । पानी थाप्न लाइन बस्नुपर्छ । एकैदिनमा पानी थाप्ने पालो नआउन पनि सक्छ । आठराई पाँच वर्षअघि मात्रै सडकको डोरोले जोडियो पूर्वी तराईसँग । कच्ची सडक भरपर्दा छैनन्, हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा यात्रा कष्टप्रद हुन्छ । 

सरकारी सेवा सुविधाका लागि २ दिनसम्म लगाएर सदरमुकाम पुग्नै पर्ने बाध्यता बल्ल हट्दैछ । सालको ०७२ को असारदेखि इलाका प्रशासन र क्रमशः मालपोत, नापी कार्यालय खुलेका छन् । आठराइको मुख्य व्यापारिक केन्द्र सक्रान्ति बजारसम्म विजुली जडान भए पनि धेरै गाउँ अझै अन्धकारमै छन् । 

एउटा पनि अस्पताल छैन । भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डाक्टर सधैँ बस्दैनन् । पर्यटनको विकास हुन सकेको छैन । बजार विकास भएको छैन । यहाँ कमाएर यही लगानी गर्दा राम्रो हुन्छ भन्ने विश्वास स्थानीय व्यवसायीलाई पनि छैन । बर्सेनि बसाईसराई बढ्दो छ । तमोर तटीय क्षेत्रमा खानेपानीको समस्या ज्वलन्त छ । 

गाउँपालिकाको कार्यालय स्थापना र जनप्रतिनिधि समेत आइसके पनि नागरिकले अझै भनेजस्तो भएको छैन । जनप्रतिनिधिले यहाँका सम्भावना र यहाँका बासिन्दाका सपनाहरु पूरा गर्नेतर्फ ध्यान केन्द्रित गर्ने भेउ नपाएको जस्तो देखिन्छ । 

लोक संस्कृति, परम्परा र धार्मिक, सांस्कृतिक र शैक्षिक रुपमा महत्वपूर्ण यो क्षेत्रले समय परिवर्तन अनुरुप विकासको फड्को मार्न नसक्दा अहिले निकै पछि परेको यहाँका बुद्धिजीवीको ठम्याई छ ।

हालका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, वामपन्थी नेताहरु सिपी मैनाली, राधाकृष्ण मैनालीलगायत उच्च राजनीतिक तहमा पुगेका व्यक्तिहरु यहीँको माटोमा जन्मेहुर्केका नामहरु हुन् । 

पूर्व राज्यमन्त्री तथा कांग्रेस नेतृ सीता गुरुङ, नेकपाका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाई र हालका प्रदेश सांसद तेजमान कन्दङवाहरु हुर्काउने ममतामयी काख पनि आठराईकै हो । 

तर, आठराईको अहिलेको रुप सम्झिँदा लाग्छ, देश चलाउने शीर्ष व्यक्तिहरु जन्माउने आठराईको मातृत्वले त्यतिसम्म संस्कार दिन सकेन कि आफ्नै सन्ततिले मातृभूमि बिर्सिउन् । यत्तिका सबल सक्षम नेतृत्व जन्माएको आठराईले अहिले पनि आफ्नो आवश्यकता बमोजिम विकास र समृद्धिमा फड्को मार्न सकेको छैन । 

सदरमुकामदेखि टाढा हुनु र सम्भावना थुप्रै भए पनि न्यूनतम पूर्वाधार, कमजोर नेतृत्व र राज्यको हेय दृष्टिको शिकार बनिरहेको छ आठराई । तर अब आठराईलाई एउटा सवल, समृद्ध नमुना भेग बनाउने होडमा स्थानीयवासी लागेका छन् । निकै लामो इतिहास बोकेको आठराईमा यतिबेला जनप्रतिनिधिको उपस्थितिले नागरिकले घरैमा सरकार पुगेको महसुस गरिरहेका छन् ।   

आठराई गाउँपालिका अहिले जनसंख्या र क्षेत्रफल दुवै आधारमा जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह हो । आठराई गाउँपालिकाका दर्जन बढी गाउँलाई मध्यपहाडी लोकमार्गले जोडेको छ । भनौँ, यो नै आठराई गाउँपालिकाको समृद्धिको एउटा सुत्र हो । जिल्लामा संघीयता कार्यान्वयनको चरणमा भित्रिएको बजेटमध्ये सबैभन्दा धेरै बजेट पाउने भाग्यमानी आठराईबासी त्यो बजेटको सही सदुपयोग चाहिरहेका छन् । उनीहरु आफ्ना जनप्रतिनिधिले यहाँको समृद्धिको खाका कोरुन् भन्ने पनि चाहन्छन् । 

उनीहरुलाई अब स्थानीयस्तरमै नीति निर्माण गर्ने, बजेट बनाउने कार्यान्वयन गर्ने र विकासले तीव्र रुपले फड्को मार्ने आशा छ । शिक्षा, चेतना, सामाजिक, आर्थिक र चौतर्फी विकास र व्यवस्थापनमा अघि बढाउनु आवश्यक ठानेका छन् उनीहरुले । नागरिकले आफूहरुप्रति राखेको अपेक्षा र आशालाई जनप्रतिनिधिले पूरा गर्न निकै चुनौतीपूर्ण छ र यो ठूलो अवसर पनि उनीहरुका लागि । सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता र पारदर्शी रुपमा आठराईलाई समृद्ध बनाउन जनप्रतिनिधिले भूमिका निर्वाह गर्नु जरुरी छ ।

इतिहास यस्तो थियो, फलाना ढिस्काना यहाँ जन्मेका थिए, शिक्षा र राजनीतिमा यति अगाडि थियो भन्ने इतिहास मात्र कतिन्जेल पढिरहने ? आठराई यस्तो हो भन्ने बनाउन अब जुर्मुराउन ढिला किन ? 

कलेजोमा लाग्ने रोग यस्ता छन्, कसरी बच्ने ?

हाम्रो शरीरमा भएको भित्री अंग मध्ये सबैभन्दा ठूलो अंग कलेजो हो । कलेजो ठूलो भएसँगै यसका काम पनि थुपै्र छन् । यसले शरीरमा रहेका विभिन्न टक्सिनलाई बाहिर

कस्ता व्यक्तिलाई लामखुट्टेले धेरै टोक्छ ?

डा. शेरबहादुर पुन - २०७३ सालको चैत अन्तिम हप्ता एकजना बिरामी टेकु अस्पताल आए । उच्च ज्वरो, जीउ र जोर्नी दुख्ने जस्ता समस्याले ग्रसित उनलाई चिकनगुनियाको

पर्वतले कसेको गाँठो

रमेश भट्टराई ‘सहृदयी’ - तपस्वीको तपस्थल, ज्ञानीको ज्ञानभूमि, प्रकृतिप्रेमी कविको भाव अङ्कुरित क्षेत्र, विज्ञानको अनुसन्धान पृष्ठभूमि, रोगीको

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण ।।

प्रकाश अधिकारी - नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली