शपथ समारोहमा मेयर र उपमेयरले मर्यादाक्रम उल्लंघन गरेको भन्दै सांसदहरु रुष्ट
.jpeg)
आइतबार विराटनगरको बीरेन्द्र सभागृहमा भएको शपथ ग्रहण समारोहपछि राती कांग्रेसबाट निर्वाचित प्रदेश सांसद केदार कार्कीले सबै सांसदलाई रात्रीभोज दिनुभयो ।
रात्रीभोजमा व्यवसायी र सांसद बाहेकका अरु व्यक्तिलाई पनि बोलाइएको थियो । दिनभर शपथ ग्रहणमा व्यस्त सांसदहरु रात्रीभोजमा दिउँसोकै कार्यक्रमको बारेमा गफ गर्दै थिए । पहिलो पटक प्रदेशसभा बसेकोेले पनि केही प्राविधिक समस्याहरु देखिनुलाई उनीहरुले स्वभाविक लिएका थिए ।
तर शपथ ग्रहण स्थलमा प्रतिनिधिसभाका सांसदलाई दर्शक दीर्घामा राखेर विराटनगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीलाई मञ्चमा राखिएकोमा उनीहरुले आपत्ति जनाए । मेयरले गभर्नरको हैसियतमा आफूलाई राखेको भन्दै सांसदहरुले आरोप लगाए ।
कार्यक्रम सुरु हुनु पहिले मञ्चमा गएर बसेका मेयर पराजुली र उपमेयर कार्कीले आफ्नो मर्यादा कायम नगरेको सांसदहरुको आरोप छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सांसद जीवन घिमिरेले भन्नुभयो, ‘मर्यादाक्रमले नमिल्ने काम भएको हो । कसैले पनि राम्रो भनेका छैनन् । एउटा व्यवस्थापकको रुपमा उहाँहरुको भूमिका सकारात्मक छ, तर प्रदेश प्रमुख सरहको हैसियतमा बस्न मिल्दैनथ्यो । ’
शपथ समारोहमा प्रदेशका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुलाई पनि निम्त्याइएको थियो । मोरङका मात्र हैन, बाहिरी जिल्लाका प्रतिनिधिसभाका सांसद र पूर्वमन्त्रीहरु कार्यक्रममा थिए । ‘उनीहरुलाई मञ्चमा राखिएन, मेयर उपमेयरलाई किन मञ्चमा राखियो रु’ सोलुखुम्बुका एक सांसदले प्रश्न गर्दैथिए ।
सरकारले तय गरेको मर्यादाक्रममा सांसदहरु १२ औं स्थानमा हुन्छन् भने महानगरका मेयर १८ औं स्थानमा छन् ।
प्रदेश सांसद विजय बिस्वाशले प्रदेशससभा सदस्यको शपथजस्तो ऐतिहासिक कार्यक्रममा मर्यादा उल्लंघन गर्ने काम महानगरका प्रमुख र उपप्रमुखले गरेको बताउनुभयो ।