जसले मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो

छोरा जन्मिएको खुसीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन थियो । तर उहाँ जन्मिदा घरमा कुनै खुसीयाली आएन । बरु आमाबुवा चिन्तित भए । छरछिमेकले परिवारलाई जिउँदै गाड्न सुझाए । कारण थियो, जन्मजात शारीरिक अपाङ्गता ।

उहाँ अर्थात नन्दराज भट्ट । जन्मजात दुवै हातखुट्टा नभएको । शरीरमा हात र खुट्टाको कुहिनोसम्मको आकार मात्र थियो । त्यसैले त उहाँका आमाबुवालाई आफन्त र छरछिमेकले त्यस्तो सन्तान पालेर के गर्छौ, खोलामा गाड भन्नेसम्मको सल्लाह दिए । 

जन्मिदा धेरैको हेयको पात्र बन्नु भएका तिनै नन्दराज अहिले भने अपाङ्गता भएकाहरुका लागि मात्र होइन, सपाङ्गहरुका लागि पनि प्रेरणाको स्रोत बन्न सफल हुनुभएको छ । कारण हो, दुवै हातखुट्टा नभएर पनि उहाँले गरिरहेको संघर्ष र प्राप्त सफलता ।

२०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका–३, मा दुवै हातखुट्टाविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अपाङ्ता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमाणित गर्नुभएको छ । हातखुट्टा नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल भएका उहाँ अपाङ्गता भएका व्यक्तिको हकअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाको सक्रिय जीवनशैली हेर्दा लाग्छ, उहाँमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उहाँ सबलाङ्ग व्यक्तिका लागि पनि प्रेरणाको स्रोत बन्नु भएको छ । 

आफू जन्मेको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरुको घुइँचो नै लागेको उहाँले निकै पछि थाहा पाउनुभयो । ‘हेर्न आएकामध्ये कतिले आमाबुवालाई अपाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेउ भन्ने सुझाव समेत दिएछन्’ नन्दराज भन्नुहुन्छ, ‘तर आमाबुवाको मन हो, आफैले जन्माएको सन्तानलाई कसरी जिउँदै मार्न सकून् ।’ 

परिवारकै सहयोगका कारण आफू यो अवस्थासम्म आइपुगेको उहाँले बताउनुभयो । आइपर्ने हरेक समस्यालाई कमजोरी होइन, चुनौतीका रुपमा लिएर अघि बढ्नु पर्ने धारणा छ उहाँको ।

दुवै हातखुट्टा नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्गताको हक अधिकारका लागि क्रियाशीलता र अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय नन्दराजले सामाजिक रुपमा पनि आफ्नो छुट्टै पहिचान बनाउन थाल्नु भएको छ । यो सफलता प्राप्तिका लागि उहाँले जीवनदेखि हार नमानी कठिन संघर्ष गर्नु भएको छ, चुनौतीका पहाडहरु छिचोल्नु भएको छ । दुवै हातखुट्टा नहुँदा शारीरिक कठिनाई त छँदै थियो । कतिपय आफन्त, साथीभाइले हेयको रुपमा हेरे । तर उहाँले जीवनदेखि हार मान्नु भएन, बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाईसँगसँगै अन्य कार्यहरुलाई निरन्तरता दिनुभयो ।

‘शारीरिक अपाङ्गताका कारण सुरुका वर्षहरुमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो’, उहाँ सम्झनुहुन्छ, ‘हात नभएकाले लेख्न मात्र होइन, विद्यालय जान र कक्षाकोठामा बस्न पनि समस्या थियो ।’ समाजले जे भने पनि परिवारले पनि साथ दिएको उहाँ बताउँनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर थियो । तर पनि परिवारले ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गर्‍यो । त्यसपछि उहा बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना हुनुभयो र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गर्नुभयो ।

सजिलो थिएन यहाँसम्मको यात्रा

सानो छँदा पहाडमा उकाली–ओराली गर्न उहाँलाई सहज थिएन । आमा बुवाले नै काँधमा बोकेर विद्यालय पुर्‍याउने, ल्याउने काम गर्नुभयो । बीरेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँ उच्च शिक्षा हासिल गर्न कैलाली झर्नुभयो । समथर भौगोलिक बनावट र यातायातका साधनको सुगमताले तुलनात्मक रुपमा उहाँलाई सहज भयो । तर शारीरिक अवस्थाले अध्ययनमा कठिनाई त छँदै थियो । धनगढी आएपछि उच्च शिक्षा आर्जन गर्न शारीरिक अपाङ्गताकै कारण भर्ना पाउन पनि उहाँले कठिनाइ झेल्नु पर्‍यो । अपाङ्गमैत्री भवन नभएको भन्दै धेरै कलेजहरुले भर्ना लिन नमानेको विगत अहिले पनि उहाँको स्मरणमा ताजा छ ।

नन्दराजको बौद्धिक क्षमता नबुझी शारीरिक अपाङ्गता देखेर धेरै कलेजले भर्ना लिन मानेनन् । तर समाजसेवी घनबहादुर शाहको मद्दतले कैलाली बहुमुखी क्याम्पसमा उहाले भर्ना पाउनुभयो । भर्ना पाइसकेपछि पनि उहाँलाई आफ्नो अध्ययन अगाडि बढाउन त्यति सहज भने भएन । उहाले विगत सम्झिनुभयो, ‘सबै सपाङ्ग विद्यार्थीको बीचमा म एक्लो अपाङ्ग थिएँ । साथीहरुले जिस्काउँथे । त्यतिबेला मन अमिलो हुन्थ्यो । तर मैले  हरेश खाइनँ ।’

हात र खुट्टा दुवै नभएका भट्टले सुरुवाति समयमा मुखले लेख्ने प्रयास गर्नुभयो । ‘मुखले लेख्दा घाँटी दुख्न थालेपछि दुवै हातका कुहिना जोडेर लेख्न थालेँ’, उहाँले सम्झनुभयो, ‘कक्षा ५ सम्म पुग्दा मुख र खुट्टाले नै लेख्थेँ ।’  खुट्टाले लेख्दा कापी फोहोर हुन थालेपछि भने कुहिनाले लेख्ने प्रयास थालेको उहाँ बताउनुहुन्छ । उहाँ अहिले मुख, कुहिना र खुट्टा तीनै अङ्गको सहारामा कलम चलाउन सक्नुहुन्छ । हिँड्ने, लेख्ने, पढ्ने मात्र होइन, मोबाइल चलाउने, आफ्नो दारी खरौनेसम्मका काम आफैं गर्न सक्नुहुन्छ ।  

हिजो घृणा गर्नेहरुबाट नै आज प्रशंसा

‘हातखुट्टा भएर पनि केही गर्न नसक्नेहरु बरु अपाङ्ग हुन्’ उहाँ भन्नुहुन्छ, ‘यो समाजले अपाङ्गताको सही अर्थ नबुझेका कारण हामीहरुलाई गाह्रो भएको हो ।’ जीवनमा सफल हुन सपाङ्ग भएर मात्रै हुँदैन । सफलताका लागि त्यो भन्दा पनि महत्वपूर्ण कुरा दृढ इच्छा र संकल्प रहेछ भन्ने कुरा नन्दराजले प्रमाणित गर्नुभएको छ । 

‘म जन्मदा मेरा आमाबुवालाई अपाङ्ग छोरा पालेर के गर्छौ, कतै लगेर फालिदेउ भन्नेहरु हिजोआज मेरो प्रशंसा गर्न थालेका छन् । मेरा लागि सबैभन्दा ठूलो खुसी पनि यही हो । म गाउँ गए भने वरिपरिका मलाई भेट्न आउँछन् र मेरा आमाबुवालाई भन्छन्, छोरा होस् त तिम्रो जस्तो’ अनुहारमा खुशी छर्दै नन्दराजले भन्नुभयो ।

कम्युटरमा पनि डिप्लोमा कोर्स पूरा गरिसकेका उहाँ ओठ र नाकको सहायताले मोबाइल र कम्प्युटर पनि सजिलैसँग चलाउनुहुन्छ । कपडा धुन भने उहाँलाई श्रीमतीले सघाउनुहुन्छ । २०७१ सालमा प्रेम विवाह गर्नु भएका नन्दराजकी एक छोरी छिन् ।  

उहाँ अहिले अपाङ्गता भएका व्यक्तिलाई सामाजिक समायोजन गराउने काममा सक्रिय हुनुहुन्छ । अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा ‘राष्ट्रिय स्वयंसेवक अवार्ड २०१६’ बाट उहाँ सम्मानित पनि हुनुभयो । नेपाली साहित्यका विद्यार्थी उहाँ साहित्य क्षेत्रमा पनि रुचि राख्नुहुन्छ । जीवनका भोगाइहरुलाई शब्दहरुमा उतार्ने कोशिस गर्ने गरेको उहाँ बताउनुहुन्छ । आफैले कोरेका गजलका केही हरफ उहाँले सुनाउनुभयो–

बेहाल छ जीवन, कथा म लेखुँ कसरी ? 
बादलभित्रको चन्द्रमा म देखुँ कसरी ?
आँसुले भिजेको परेली बिझाइरहन्छ कताकता  
तिमी नै भनिदेऊ त्यो परेली म सेकुँ कसरी ?

कहिलेकाहीँ समसामयिक विषयमा पनि कलम चलाउने भट्ट अपाङ्गताको सवाललाई समेटेर लेखरचनाहरु पनि कोर्ने गर्नुहुन्छ । उहाँले ‘बेलाको बोली’ विचार संग्रह प्रकाशन पनि गर्नुभएको छ । अहिले आफ्नै जीवन चरितार्थ पुस्तक प्रकाशित गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । ‘हातले, मुखले र खुट्टाले लेखेर आफ्नो जीवन कथा आधी जति लेख्न भ्याएको छु । छिटै प्रकाशित गर्ने सोच छ’, उहाँले भन्नुभयो । 

अपाङ्ग भएकोमा कुनै अफसोच र दुःख आफूलाई नरहेको उहाँको भनाइ छ । नन्दराज भन्नुहुन्छ, ‘म अपाङ्ग हुनुमा मलाई कुनै दुःख छैन । बरु गर्व लाग्छ, मभित्र सबलाङ्ग व्यक्तिमा भन्दा फरक क्षमता छ ।’  उज्यालो अनलाइनबाट साभार

बैतडीमा २ सय ३३ हतियार प्रशासनको जिम्मा ।।

बैतडीमा २ सय ३३ थान हातहतियार प्रशासनलाई बुुझाइएको छ । इजाजत प्राप्त हातहतियार पनि स्थानीय निर्वाचन अवधिभरका लागि स्थानीय प्रशासन तथा प्रहरीमा

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु ।।

यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन

निजी विद्यालय संचालकको आन्दोलन फिर्ता, आजदेखि विद्यालयमा पठनपाठन सुरु ।।

नयाँ शुल्क निर्धारण गरिएपछि निजि विद्यालय संचालकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । सहमतिसंगै आजदेखि बन्द रहेका निजि विद्यालय सुचारु हुने भएका

पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखायो ।।

अछामको पञ्चदेवल विनायक नगरपालीकाले नगरको सर्बोत्तम विकासका लागी अग्रसरता देखाएको छ । नगरपालीका ले नगर भित्रको फोहोर व्यबस्थापन, घरेलु मदिरा